काठमाडौं । नेपाल टेलिकमले जीएसएम पोस्टपेड मोबाइल ग्राहकका लागि सिमकार्ड नामसारी प्रक्रियालाई थप सहज बनाउँदै आवश्यक विवरण अनलाइनबाटै भर्न सकिने सुविधा सुरु गरेको छ।
नयाँ व्यवस्थासँगै पोस्टपेड सिमकार्ड अर्को व्यक्तिको नाममा नामसारी गर्न यसअघि जस्तो सुरुदेखि नै दूरसञ्चार कार्यालयमा पुगेर प्रक्रिया अघि बढाउनुपर्ने बाध्यता हटेको छ। ग्राहकले अनलाइनबाट आवश्यक विवरण भरेपछि अन्तिम प्रमाणीकरणका लागि नजिकको नेपाल टेलिकम कार्यालय वा ग्राहक सेवा केन्द्रमा उपस्थित हुनुपर्नेछ।
नेपाल टेलिकमका अनुसार ग्राहकले कस्टमर लगइन पोर्टलमा प्रवेश गरी मोबाइल नम्बर दर्ता गरेर ओटीपी प्राप्त गर्नुपर्नेछ। त्यसपछि हालको ग्राहक तथा सिम नामसारी गर्नुपर्ने नयाँ ग्राहकको व्यक्तिगत विवरण अनलाइनमा भर्न सकिनेछ।
नामसारी प्रक्रियाका क्रममा ग्राहकले पछिल्लो एक महिनामा आफूले कल गरेका पाँचवटा मोबाइल नम्बरसमेत विवरणमा उल्लेख गर्नुपर्नेछ।
सबै विवरण अनलाइनमा भरिसकेपछि प्रमाणीकरणका लागि नजिकको नेपाल टेलिकम कार्यालय वा ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुपर्नेछ। नामसारी दस्तुर बुझाएपछि सक्कल नागरिकता प्रमाणपत्रसहित ग्राहक आफैँ वा अधिकृत प्रतिनिधिमार्फत अन्तिम प्रमाणीकरण गर्न सकिने व्यवस्था गरिएको टेलिकमले जनाएको छ।
यस व्यवस्थाले नामसारीका लागि कार्यालयमा बिताउनुपर्ने समय घटाउने तथा प्रक्रिया थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ। कार्यालयमा स्वयं उपस्थित हुन नसक्ने ग्राहकले प्रतिनिधिमार्फत प्रमाणीकरण गर्न सक्ने भएकाले सेवा लिन थप सहज हुने टेलिकमको भनाइ छ।
व्यक्तिगत ग्राहकका लागि मात्र सुविधा
नेपाल टेलिकमले हालका लागि यो सुविधा व्यक्तिगत पोस्टपेड ग्राहकका लागि मात्र उपलब्ध गराएको छ। कर्पोरेट ग्राहकका हकमा भने सिम नामसारीको प्रक्रिया पूरा गर्न सम्बन्धित कार्यालयमै उपस्थित हुनुपर्नेछ।
नयाँ अनलाइन प्रणालीले सिम नामसारी प्रक्रियालाई डिजिटल माध्यममा रूपान्तरण गर्दै ग्राहकको समय र झन्झट घटाउने उद्देश्य राखेको टेलिकमले जनाएको छ।
Originally published on abcnews.com.np.






प्रतिक्रिया दिनुहोस्