रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङ र मङरारु क्षेत्रमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ। शुक्रबार थप एक महिलाको शव फेला परेसँगै पहिरोमा बेपत्ता रहेका सबै व्यक्तिको अवस्था खुलेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सुनछहरी गाउँपालिका–२ मङरारु निवासी करिब ६४ वर्षीया लामी घर्ती पहिरोमा परी बेपत्ता भएकी थिइन्। उनको खोजी गर्ने क्रममा शुक्रबार दिउँसो करिब २ः३० बजे भान्साघरमा पहिरोले पुरिएको अवस्थामा शव फेला परेको हो।
लामी घर्तीको शव फेला परेसँगै फलबाङ र मङरारु क्षेत्रमा पहिरोमा परी बेपत्ता भएका सबैको अवस्था खुलेको प्रहरीले जनाएको छ।
यसअघि पहिरोमा पुरिएर ७७ वर्षीय वीरु घर्ती मगर, ६८ वर्षीया सनी घर्ती मगर र ७० वर्षीया लली घर्ती मगरको शव फेला परेको थियो।
लगातारको वर्षापछि आएको पहिरोले सुनछहरी गाउँपालिकाका विभिन्न क्षेत्रमा जनधनको क्षति पुर्याएको छ। जोखिमयुक्त बस्तीमा थप पहिरो खस्न सक्ने सम्भावना रहेकाले स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको छ।
यसैबीच, रोल्पाकै थबाङ गाउँपालिका–५ उवा कोटलबारामा गएको पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने तीन जना अझै बेपत्ता छन्।
लगातारको वर्षाका कारण रोल्पाका विभिन्न क्षेत्रमा पहिरोको जोखिम बढेपछि स्थानीय प्रशासन, प्रहरी तथा सुरक्षा निकायले खोज तथा उद्धार कार्यलाई तीव्र बनाएका छन्।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्