काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका डा. धवलशम्शेर राणाको नेतृत्वमा ‘जय नेपाल पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको छ।
डा. राणाले शुक्रबार निर्वाचन आयोगमा पार्टी विधिवत् दर्ता गरिएको जानकारी दिएका हुन्।
“जय नेपाल पार्टी निर्वाचन आयोगमा आज विधिवत् दर्ता गरेका छौँ,” राणाले भने, “राष्ट्रवादी दल निर्माण गर्ने क्रममा सहयोग गर्ने, शुभेच्छा राख्ने सबैप्रति कृतज्ञ छौँ।”
पार्टीको सभापतिमा डा. धवलशम्शेर राणा रहेका छन्।
दुर्गा प्रसाईंले पार्टी छाडे
यसअघि मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सर्वोच्च नेता बनाउने घोषणा गरिएको थियो। तर पार्टी औपचारिक रूपमा दर्ता हुनुअघि नै प्रसाईंले पार्टीबाट अलग भएको बताइएको छ।
पार्टी दर्तापछि अब केन्द्रीय कार्यसमिति गठन गर्दै प्रदेश, जिल्ला र स्थानीय तहसम्म संगठन विस्तार गर्ने राणाले बताएका छन्।
युवालाई उम्मेदवार बन्न आह्वान
राणाले आगामी स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न इच्छुक युवालाई पार्टीसँग सम्पर्क गर्नसमेत आग्रह गरेका छन्।
उनका अनुसार तत्काल पार्टीको प्राथमिकता संगठन विस्तार र स्थानीय तहसम्म पार्टीको संरचना निर्माण गर्नु हुनेछ। स्थानीय तहबाटै जनतामाझ पार्टीका विचार, नीति तथा उद्देश्य पुर्याउने योजना रहेको उनले बताएका छन्।
Originally published on abcnews.com.np.

















प्रतिक्रिया दिनुहोस्