काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनाल र नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहबीच शुक्रबार भेटवार्ता भएको छ।
सिंह निवास बनस्थलीमा भएको भेटवार्तामा पछिल्लो राष्ट्रिय राजनीतिक अवस्था, बदलिँदो राजनीतिक परिस्थिति तथा मुलुकसामु देखिएका सम्भावित चुनौतीबारे छलफल भएको खनालका प्रेस सहयोगी मिलन उपाध्यायले जानकारी दिए।
भेटका क्रममा मुलुकको राजनीतिक परिस्थिति थप जटिल बन्दै गएकोप्रति दुवै नेताले चिन्ता व्यक्त गरेका थिए। उनीहरूले राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र राष्ट्रिय हितमाथि आउन सक्ने चुनौती तथा सम्भावित बाह्य हस्तक्षेपका विषयमा समेत छलफल गरेको जनाइएको छ।
दुवै नेताले वर्तमान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको समीक्षा गर्दै देशका जिम्मेवार राजनीतिक शक्तिहरूबीच सहकार्य आवश्यक रहेको धारणा राखेका थिए।
विशेषगरी वामपन्थी शक्तिहरूबीच मात्रै नभई देशभक्त तथा लोकतान्त्रिक शक्तिहरूबीच समेत कार्यगत एकता र सहकार्यलाई अघि बढाउनुपर्नेमा उनीहरूले जोड दिएका छन्।
भेटवार्तामा बदलिँदो अन्तर्राष्ट्रिय परिस्थितिबाट नेपालमा पर्न सक्ने प्रभाव, राष्ट्रिय हितको संरक्षण तथा लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउने विषयमा पनि विचार–विमर्श भएको बताइएको छ।
खनाल र सिंहले मुलुकको वर्तमान राजनीतिक संकटबाट उत्पन्न हुन सक्ने चुनौती सामना गर्न राजनीतिक शक्तिहरूले आपसी मतभेदभन्दा माथि उठेर राष्ट्रिय हितलाई केन्द्रमा राख्दै सहकार्य र समन्वय बढाउनुपर्ने आवश्यकतामा जोड दिएका थिए।
भेटलाई पछिल्लो समय वाम तथा लोकतान्त्रिक शक्तिहरूबीच राष्ट्रिय मुद्दामा सहकार्यको सम्भावनाबारे भइरहेको राजनीतिक संवादकै एउटा कडीका रूपमा हेरिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्