काठमाडौं । सरकारले जेन–जी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम सञ्चालनका लागि ५० लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ।
अर्थ मन्त्रालयले शुक्रबार ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी (दोस्रो संशोधन) कार्यविधि, २०८३’ जारी गर्दै जेन–जी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई लक्षित स्वरोजगार उद्यम कर्जा व्यवस्था थप गरेको हो।
कसले पाउँछन् कर्जा?
कार्यविधिअनुसार जेन–जी आन्दोलनका शहीद परिवार वा घाइतेले यस्तो कर्जा लिन नेपाल सरकार वा प्रचलित कानुनबमोजिम तोकिएको निकायबाट आफू शहीद परिवार वा घाइते भएको प्रमाणित गर्नुपर्नेछ।
‘जेन–जी आन्दोलनका शहीद परिवार’ भन्नाले आन्दोलनमा ज्यान गुमाएका व्यक्तिका पति, पत्नी, छोरा, छोरी, बाबु वा आमालाई बुझिने कार्यविधिमा उल्लेख छ।
यी क्षेत्रमा लगानी गर्न सकिने
सहुलियतपूर्ण कर्जा ५० लाख रुपैयाँसम्म लिन सकिनेछ। कर्जाको रकमबाट निम्न व्यवसाय सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ—
- कृषि तथा पशुपन्छी व्यवसाय
- घरेलु तथा साना उद्योग
- सेवा व्यवसाय
- सूचना प्रविधिमा आधारित व्यवसाय
- पर्यटन व्यवसाय
- उत्पादनमूलक उद्योग
- स्टार्टअप उद्यम
- सरकारले तोकेका अन्य उत्पादनमूलक तथा रोजगारीमूलक व्यवसाय
स्वरोजगार र उद्यमशीलतामा जोड
सरकारले आन्दोलनबाट प्रभावित परिवार तथा घाइतेलाई स्वरोजगार र उद्यमशीलतामार्फत आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले कर्जाको नयाँ व्यवस्था ल्याएको जनाएको छ।
यसबाट आन्दोलनमा ज्यान गुमाएका तथा घाइते भएका परिवारको आर्थिक अवस्था सुधार गर्न सहयोग पुग्ने सरकारको अपेक्षा छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्