गुलरिया (बर्दिया), साउन ३० गते । गुलरिया नगरपालिका वडा ४ तुल्सीपुरका हिमनाथ योगीले निजी वन मासेर केरा खेती सुरु गर्नुभएको छ । उहाँले १० वर्ष अगाडि एक विघा जग्गामा लगाएको सागुन र लिप्टिस बगैँचा मासेर केरा खेती सुरु गर्नुभएको हो ।
राम्रो आम्दानी हुने देखिएपछि बर्दियामा केरा खेती गर्ने किसान बढ्दै गएका छन् । योगीजस्तै बर्दियामा अरु खेती छोडेर केरा खेती गर्ने किसानको संख्या बढिरहेको छ । गत वर्षदेखि केराले राम्रो मूल्य पाउन थालेपछि बर्दियाका किसानहरू केरा खेतीतर्फ आकर्षित भएका हुन् । योगीका अनुसार अहिले आफ्नो गाउँमा चारजना किसानले सगुनको बगैँचा मासेर केरा खेती गर्न थाल्नुभएको छ ।
केरा खेतीको क्षेत्रफल वृद्धि
केरा व्यवसायी संघ बर्दियाका अध्यक्ष टोपलाल बिकले यस वर्ष बर्दिया जिल्लाभरी ५० हेक्टर क्षेत्रफलमा केरा खेती थपिएको बताउनुभयो । उहाँले गत वर्षको तुलनामा यस वर्ष केराको दर राम्रो भएको हुनाले केरा खेती गर्ने किसानहरू पनि बढ्दै गएको बताउनुभयो ।
“गत वर्षको सिजनमा दशैँ—तिहारसम्म पनि केरा बिक्री राम्रो भएको थिएन,” बिकले भन्नुभयो, “भारतबाट केरा आयात बन्द भएपछि केराको माग र मूल्य बढेको छ । माग बढेसँगै केरा खेती गर्ने किसान पनि बढेका छन् ।” बर्दिया जिल्लाभरी ६ सय ५० किसानले आठसय हेक्टर क्षेत्रफलमा केरा खेती गरेको उहाँले बताउनुभयो ।
जिल्लाको आत्मनिर्भरता र सरकारी कार्यक्रम
बर्दिया जिल्ला केरा खेतीमा आत्मनिर्भर भएको छ । सरकारले केरा खेतीलाई प्रोत्साहन गर्नका लागि बर्दियाका गुलरिया, मधुवन र बाँसगढी नगरपालिकाका १७ वटा वडामा केरा जोन कार्यक्रम लागू गरेको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमले आर्थिक वर्ष २०७८—७९ मा केरा जोन लागु गर्दा दुईसय ६९ हेक्टर क्षेत्रफलमा केरा खेती सुचिकृत भएको थियो । गत आर्थिक वर्षमा चारसय १० हेक्टर केरा खेती सुचिकृत भएको छ ।
केरा जोन घोषणा गरिएको अनुदानका लागि सुचिकृत भएको तथ्याङ्क मात्र कार्यालयमा भएको हुनाले जिल्लाभरी केरा खेती गर्ने क्षेत्रफल र किसान धेरै भएको कार्यालयका प्रमुख बिरेन्द्रराज पराजुलीले बताउनुभयो । केरा जोन कार्यक्रममा पाँचवटा सहकारी, ३५ वटा कृषि उद्यम र एक कम्पनी गरी ४१ वटा लाभग्राही सुचिकृत भएको उहाँले बताउनुभयो । बर्दियामा प्रतिहेक्टर ५०—७५ मेट्रिक टन केरा उत्पादन हुँदैआएको कार्यालय प्रमुख पराजुलीले बताउनुभयो ।
अनुदान र सहयोग
केरा जोन कार्यक्रम अन्तर्गत कार्यालयले निःशुल्क प्राविधिक सहयोग गर्दैआएको छ । त्यसैगरी यान्त्रीकरण, सिँचाइ, बिरुवा, बजारीकरण, केरा पकाउने चेम्बर स्थापना र कृषि चुन लगायत माटो सुधारका लागि ५० प्रतिशत अनुदान दिँदैआएको छ । अनुदान रकमले केरा खेती बिस्तारका लागि सहज भएको गुलरिया नगरपालिका वडा ४ प्रगतिटोलका किसान विष्णुप्रसाद भट्टराईले बताउनुभयो । उहाँले अनुदानलाई थप प्रभावकारी बनाउनु पर्ने बताउँदै नयाँ किसानलाई जोड्न कार्यालयले भूमिका खेल्न नसकेको दाबी गर्नुभयो ।
उत्पादन र निर्यात
बार्षिक ४० हजार मेट्रिक टन केरा उत्पादन हुने अनुमान गरिएको छ । पछिल्लो बजार मूल्यअनुसार झण्डै डेढ अर्बभन्दा बढीको केरा निर्यात हुने सम्भावना रहेको बताइएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्