काठमाडौं । वैद्य इनर्जीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सूर्यांश वैद्यले कृत्रिम बौद्धिकता (एआई) ले अटोमोबाइल क्षेत्रसँगै ट्राफिक व्यवस्थापन, सवारी सुरक्षा र व्यवसाय सञ्चालनमा समेत महत्वपूर्ण परिवर्तन ल्याउन सक्ने बताएका छन्।
नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको ‘एआई एन्ड अटोमोटिभ टेक्नोलोजी : ड्राइभिङ द फ्यूचर अफ मोबिलिटी’ संवादमा बोल्दै वैद्यले एआईको प्रयोगले सवारीसाधन र यातायात व्यवस्थापनलाई थप सुरक्षित, प्रभावकारी र तथ्यमा आधारित बनाउन सकिने बताएका हुन्।
उनले आफ्नो संस्थामा समेत कर्मचारीलाई एआईका विभिन्न प्रयोगबारे जानकारी दिँदै नयाँ सम्भावनाको खोजी गर्न प्रोत्साहित गरिएको बताए। एआईले कर्मचारीलाई थप आत्मनिर्भर बनाउनुका साथै अनुसन्धान, विश्लेषण र काम गर्ने नयाँ तरिका पहिचान गर्न सहयोग गरिरहेको उनको भनाइ छ।
सवारीसाधनमै एआईको प्रयोग
वैद्यका अनुसार सवारीसाधनमा जडित सेन्सर तथा अन्य उपकरणबाट संकलित तथ्यांक विश्लेषण गरी प्रयोगकर्तालाई विभिन्न सुविधा उपलब्ध गराउन सकिन्छ।
एथरजस्ता विद्युतीय स्कुटरमा सडकको अवस्था पहिचान गरी ‘पोटहोल अलर्ट’ जस्ता सुविधा विकास गर्न सकिने सम्भावना रहेको उनले बताए। एआईको प्रयोगबाट चालकको सवारी चलाउने शैली सुधार गर्न तथा सुरक्षित ड्राइभिङका लागि आवश्यक सुझाव दिनसमेत सकिने उनको भनाइ छ।
रुट योजना र ऊर्जा बचतमा सहयोग
सवारीको राइड एनालिटिक्समार्फत सुरक्षित र प्रभावकारी रूपमा कसरी चलाउने, ऊर्जा कसरी बचत गर्ने, कहिले चार्ज गर्ने र कुन स्थानमा चार्ज गर्न उपयुक्त हुन्छ भन्ने जानकारी प्रयोगकर्तालाई दिन सकिने वैद्यले बताए।
रुट प्लानिङमा पनि एआईको प्रयोग बढाउन सकिने उनको भनाइ छ। सवारीसाधनको ब्याट्री सकिन सक्ने अवस्था पहिचान गरी गन्तव्यमा पुग्नुअघि कहाँ चार्ज गर्न उपयुक्त हुन्छ भन्ने सुझाव सवारीसाधनले नै दिन सक्ने उनले बताए।
त्यस्तै, मौसम तथा वर्षाको तथ्यांकलाई सवारीको प्रणालीसँग जोडेर सडकको अवस्थाअनुसार ट्र्याक्सन कन्ट्रोल मोड परिवर्तन गर्न सकिने सम्भावना पनि उनले औँल्याए।
स्वचालित सवारी नेपालमा चुनौतीपूर्ण
स्वचालित सवारी (अटोनोमस ड्राइभिङ) एआईको महत्वपूर्ण प्रयोग भए पनि नेपालजस्तो मुलुकमा यसको प्रयोग चुनौतीपूर्ण रहेको वैद्यले बताए।
स्वचालित सवारीका लागि आवश्यक प्रशिक्षण तथ्यांक प्रायः राम्रो सडक, स्पष्ट लेन र व्यवस्थित ट्राफिक भएको वातावरणबाट संकलन हुने भएकाले नेपालको सडक पूर्वाधार र ट्राफिक अवस्थाका कारण यसमा थप चुनौती रहेको उनको भनाइ छ।
तथ्यांकमा आधारित ट्राफिक व्यवस्थापन आवश्यक
काठमाडौं उपत्यकाजस्तो पुरानो र घना सहरी क्षेत्रमा सडक फराकिलो बनाएर मात्रै ट्राफिक समस्या समाधान गर्न नसकिने वैद्यले बताए। त्यसका लागि तथ्यांकमा आधारित ट्राफिक व्यवस्थापन आवश्यक रहेको उनले जोड दिए।
सार्वजनिक यातायात, बस लेन तथा अन्य पूर्वाधारमा कहाँ र कति लगानी गर्ने भन्ने निर्णय पनि अनुसन्धान तथा तथ्यांकका आधारमा गर्नुपर्ने उनको भनाइ छ।
उपत्यकामा सार्वजनिक विद्युतीय सवारीका लागि चार्जिङ पूर्वाधार विस्तार गर्नुभन्दा सार्वजनिक यातायातलाई प्रभावकारी बनाउने पूर्वाधारमा प्रारम्भिक लगानी गर्नु बढी प्रभावकारी हुन सक्ने उनले बताए।
‘सवारीसाधनबाट संकलित तथ्याङ्कलाई पूर्वाधार मन्त्रालय वा सम्बन्धित निकायसँग साझेदारी गर्न सकिए सडकका खाल्डाजस्ता समस्या पहिचान र समाधानमा समेत सहयोग पुग्न सक्छ,’ उनले भने।
निजी क्षेत्र र अनुसन्धान संस्थाबीच सहकार्यमा जोड
वैद्यले एआई तथा अटोमोटिभ प्रविधिको अनुसन्धानका लागि निजी क्षेत्र र अनुसन्धान संस्थाबीच सहकार्य आवश्यक रहेको बताए।
भविष्यको मोबिलिटीको उद्देश्य नयाँ सवारीसाधन बिक्री गर्नु मात्र नभई मानिसलाई एक स्थानबाट अर्को स्थानमा सुरक्षित, सहज र प्रभावकारी रूपमा पुर्याउने प्रणाली विकास गर्नु रहेको उनको भनाइ छ।
एआई, अनुसन्धान तथा सार्वजनिक–निजी क्षेत्रबीचको सहकार्यले नेपालको यातायात तथा मोबिलिटी क्षेत्रमा स्थानीय आवश्यकता अनुकूल समाधान विकास गर्न महत्वपूर्ण भूमिका खेल्न सक्ने वैद्यले बताए।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्