काठमाडौं । प्रतिनिधि सभाकी उपसभामुख रुबीकुमारी ठाकुरले दाइजोका कारण कसैमाथि अन्याय भए आफूलाई सम्पर्क गर्न आग्रह गरेकी छन्।
धनुषाको ढल्केबरमा शनिबार नाई सहयोग संस्था नेपालको दोस्रो अधिवेशन तथा चौथो साधारणसभाको उद्घाटन गर्दै उपसभामुख ठाकुरले दाइजो प्रथाविरुद्ध आफू निरन्तर आवाज उठाउँदै आएको बताइन्।
दाइजोका कारण कसैलाई अन्याय वा हिंसा भए आफूलाई जानकारी गराउन आग्रह गर्दै उनले दाइजो लिएर वा दिएर विवाह गर्ने तथा दाइजोका लागि दबाब दिने कार्य कानुनअनुसार दण्डनीय हुने भएकाले त्यस्ता गतिविधि नगर्न सबैलाई आग्रह गरिन्।
उपसभामुख ठाकुरले दाइजो प्रथा अन्त्यका लागि सामूहिक पहल आवश्यक रहेको बताइन्। दाइजोको कुप्रथा अन्त्यसँगै ठाकुर समुदायको सामाजिक, राजनीतिक र आर्थिक उत्थानका लागि पनि सबैले एकअर्कालाई सहयोग गर्नुपर्नेमा उनले जोड दिइन्।
‘छोरीलाई दाइजो होइन, शिक्षा दिनुहोस्। छोराको विवाह गर्दा दाइजो नलिनुहोस्,’ उनले भनिन्, ‘दाइजो समाजका लागि अभिशाप हो। सबै मिलेर यसको अन्त्य गरौँ।’
छोरी र बुहारीलाई शिक्षामा प्रोत्साहित गर्नुपर्नेमा जोड दिँदै उनले शिक्षामार्फत महिलालाई सक्षम र आत्मनिर्भर बनाउनुपर्ने बताइन्।
कार्यक्रममा सिरहा नाई समाजका श्यामकुमार ठाकुरले हजाम समुदायको सामाजिक, आर्थिक, शैक्षिक तथा राजनीतिक उत्थानका साथै राज्यका हरेक निकायमा समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै उपसभामुख ठाकुरलाई मागपत्र बुझाएका थिए।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्