काठमाडौं । देशका विभिन्न स्थानमा शनिबार वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार केही स्थानमा ‘धेरै भारी’ वर्षासमेत भएको छ।
विभागका अनुसार आइतबार बिहान ८ः५० बजेसम्मको पछिल्लो १२ घण्टाको अवधिमा दार्चुला, बर्दिया र दाङका तीनवटा मौसम मापन केन्द्रमा धेरै भारी वर्षा रेकर्ड भएको छ।
यस्तै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा भारी वर्षा भएको विभागले जनाएको छ। लमजुङ, प्युठान, दाङ, बाँके, कैलाली, कञ्चनपुर, जाजरकोट, दैलेख, कालीकोट र डोटीमा भारी वर्षा भएको हो।
विभागले आज पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ। वर्षाका कारण सम्भावित जोखिमलाई मध्यनजर गर्दै सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। विभागका अनुसार मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरतर्फ, नेपालनजिक रहेको छ।
भारी वर्षाका कारण नदी तथा खोलानालामा जलस्तर बढ्न, पहाडी क्षेत्रमा पहिरो तथा सडक अवरुद्ध हुनसक्ने भएकाले आवश्यक सावधानी अपनाउन विभागले आग्रह गरेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्