सिड्नी । नेपालको पोखराबाट असहाय तथा विपन्न वर्गका बालबालिकाको सहारा बन्दै अघि बढेको सहारा क्लबको अभियान पछिल्लो समय अन्तर्राष्ट्रियस्तरमा समेत विस्तार हुँदै गएको छ। बेलायत, हङकङ र अस्ट्रेलियालगायतका देशमा आफ्नो गतिविधि विस्तार गरिरहेको सहारा क्लबको उद्देश्यलाई साथ दिँदै अस्ट्रेलियामा यस वर्ष पनि १०औँ सहारा कप फुटबल प्रतियोगिता सुरु भएको छ।
सिड्नीमा आयोजित प्रतियोगिता सहारा एकेडेमी पोखराको सहयोगार्थ आयोजना गरिएको हो। सहारा क्लब अस्ट्रेलियाले विगत एक दशकदेखि नियमित रूपमा प्रतियोगिता आयोजना गर्दै आएको छ। प्रतियोगितामार्फत अस्ट्रेलियामा रहेका नेपाली समुदायलाई खेलकुदसँग जोड्नुका साथै पोखरामा सञ्चालित सहारा एकेडेमीलाई सहयोग गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ।
प्रतियोगिताको पहिलो दिन आइतबार भएका खेलमा माछापुच्छ्रे, बेनी एफसी र पारापार्क विजयी हुँदै अघिल्लो चरणमा प्रवेश गरेका छन्।
उद्घाटन खेलमा माछापुच्छ्रेले क्लब नेपाललाई टाइब्रेकरमा पराजित गर्दै कठिन जित निकाल्यो। प्रतिस्पर्धात्मक खेलमा क्लब नेपालले सुरुवाती अग्रता लिए पनि खेलको अन्तिम पाँच मिनेटमा सम्हालिन नसक्दा माछापुच्छ्रेले खेलमा पुनरागमन गरेको थियो। निर्धारित समयमा बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो।
टाइब्रेकरमा माछापुच्छ्रेले बाजी मार्दै प्रतियोगिताको दोस्रो चरणमा स्थान बनायो। खेलमा टोलीलाई हारबाट जोगाउन महत्वपूर्ण भूमिका खेलेका रीतिक खड्का म्यान अफ दी म्याच घोषित भए।
दोस्रो खेलमा भने बेनी एफसीले एकतर्फी प्रदर्शन गर्दै ब्रिगेड गोर्खाजमाथि ११–२ को फराकिलो जित दर्ता गर्यो। खेलको सुरुवाती १५ मिनेटमा दुवै टोलीबीच प्रतिस्पर्धा देखिए पनि त्यसपछि बेनी एफसीले खेलमाथि पूर्ण नियन्त्रण कायम गरेको थियो।
टोलीले उत्कृष्ट तालमेल, आक्रामक खेलशैली र निरन्तर गोल गर्दै ब्रिगेड गोर्खाजलाई दबाबमा राखेको थियो। बेनीका बिजु भुजेल खेलमा प्रभावशाली प्रदर्शन गर्दै म्यान अफ दी म्याच घोषित भए।
उद्घाटन दिनको तेस्रो खेलमा पारापार्कले वेस्ट युनाइटेडलाई ४–० ले पराजित गर्यो। खेलको सुरुदेखि नै आक्रामक देखिएको पारापार्कले वेस्ट युनाइटेडलाई दबाबमा राख्दै सहज जित हात पारेको हो।
यस वर्षको प्रतियोगितामा सिड्नीमा रहेका १४ वटा नेपाली फुटबल क्लब सहभागी छन्। नेपाली समुदायबीच खेलकुदमार्फत आपसी सम्बन्ध र सहकार्य विस्तार गर्नुका साथै नेपालमा सहारा क्लबले सञ्चालन गर्दै आएको सामाजिक अभियानलाई अन्तर्राष्ट्रिय समुदायसम्म पुर्याउने प्रतियोगिताको उद्देश्य रहेको आयोजकले जनाएको छ।
प्रतियोगिताको विजेताले तीन हजार अस्ट्रेलियन डलर तथा ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टोलीले एक हजार अस्ट्रेलियन डलर तथा ट्रफी पाउनेछ।
सहारा क्लब पोखराले असहाय तथा विपन्न बालबालिकालाई आश्रय, शिक्षा र खेलकुदको अवसर प्रदान गर्ने उद्देश्यले सञ्चालन गरेको सहारा एकेडेमीलाई सहयोग पुर्याउन अस्ट्रेलियामा हरेक वर्ष सहारा कप आयोजना हुँदै आएको हो।
सहारा क्लब अस्ट्रेलियाका अध्यक्ष सिद्धार्थ पौडेलका अनुसार प्रतियोगिता केवल फुटबल प्रतियोगितामा सीमित नभई नेपालमा सहारा आवश्यक रहेका बालबालिकाका लागि सहयोग जुटाउने माध्यम पनि हो।
“नेपालमा बेसहारालाई सहारा दिने उद्देश्यले स्थापना भएको सहारा क्लब र सहारा एकेडेमीको अभियानलाई अस्ट्रेलियामा रहेका नेपाली समुदायसम्म जोड्न हामीले हरेक वर्ष प्रतियोगिता आयोजना गर्दै आएका छौँ,” पौडेलले बताए।
दशौँ संस्करणसम्म आइपुग्दा सहारा कपले सिड्नीको नेपाली समुदायमा आफ्नै पहिचान बनाएको आयोजकको भनाइ छ। प्रतियोगिताले प्रवासमा रहेका नेपाली युवालाई खेलकुदमा सक्रिय बनाउनुका साथै उनीहरूलाई आफ्नो देश र सामाजिक उत्तरदायित्वसँग जोड्ने माध्यमको भूमिका निर्वाह गर्दै आएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्