काठमाडौं । नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको ९३ वर्षको उमेरमा निधन भएको छ। उमेरजन्य विभिन्न रोगबाट पीडित श्रेष्ठको आइतबार राति बूढानीलकण्ठस्थित निवासमा निधन भएको हो।
नेपाल भाषा एकेडेमीका चान्सलर तथा पत्रकार मल्ल के. सुन्दरले श्रेष्ठको निधन भएको जानकारी दिएका छन्।
नेपाल भाषा साहित्य, नेपाली काव्य तथा गीति क्षेत्रमा महत्वपूर्ण योगदान दिएका श्रेष्ठका नेपाल भाषा, नेपाली र अंग्रेजी भाषामा ८० भन्दा बढी कृति प्रकाशित छन्।
मल्ल के. सुन्दरका अनुसार श्रेष्ठ नेपाल भाषा, जातीय पहिचान र समान अधिकारका लागि लामो समयदेखि संघर्षरत थिए। पद्मरत्न तुलाधर, मल्ल के. सुन्दर र दुर्गालाल श्रेष्ठ नेपाल भाषा तथा अधिकारको आन्दोलनमा सामूहिक रूपमा सक्रिय रहेको उनले बताए।
श्रेष्ठ नेपाल भाषा मंका खल तथा नेपाल भाषा एकेडेमीका संस्थापकसमेत रहेको मल्लले जानकारी दिए।
साहित्य सिर्जनासँगै शिक्षण पेसामा समेत आबद्ध श्रेष्ठ कवि तथा गीतकार मात्र नभई नाटक लेखन, निर्देशन र अभिनयमा समेत सक्रिय थिए। उनले आफ्नै नाटक निर्देशन गर्नुका साथै अभिनयसमेत गर्ने गरेको मल्लले बताए।
श्रेष्ठका ‘सय थरी बाजा एउटै ताल, सय थरी गोडा एउटै चाल’ तथा ‘फूलको आँखामा फूलै संसार, काँढाको आँखामा काँढै संसार’ लगायत गीत नेपाली संगीत तथा साहित्य क्षेत्रमा चर्चित छन्।
नेपाल भाषा साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिएका श्रेष्ठको निधनले नेपाली साहित्य तथा सांस्कृतिक क्षेत्रमा अपूरणीय क्षति पुगेको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्