काठमाडौँ । नागपञ्चमीका अवसरमा काठमाडौँका विभिन्न नागस्थानमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। पशुपतिनाथस्थित वासुकिनाथ मन्दिर, काठमाडौँ महानगरपालिका–१ को नागपोखरी र कीर्तिपुर–६ स्थित टौदहमा भक्तजनले पूजा, आराधना तथा दर्शन गरिरहेका छन्।
पशुपति क्षेत्र विकास कोषका अनुसार वासुकिनाथ मन्दिर बिहान ३ बजेदेखि नै खुला गरिएको थियो। नागपञ्चमीका अवसरमा मन्दिरमा विशेष पूजा तथा आराधना भइरहेको छ।
श्रावण महिनाको तेस्रो सोमबारसमेत परेकाले पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनको चहलपहल बढेको छ। बोलबम यात्रासहित सुन्दरीजलबाट शुद्ध जल ल्याएर पशुपतिनाथमा चढाउने भक्तजनको समेत भीड लागेको छ।
त्यस्तै, नागपोखरीमा नित्य पूजा सकिएपछि भक्तजनका लागि पोखरी खुला गरिएको छ। नागपञ्चमीका अवसरमा यहाँ विशेष मेलासमेत आयोजना गरिएको छ।
कीर्तिपुर–६ स्थित टौदहमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। कर्कोटक नागराजा र नागरानीको निवासका रूपमा धार्मिक विश्वास रहेको टौदहमा नित्य पूजापछि भक्तजनलाई पूजा तथा दर्शनका लागि खुला गरिएको हो।
टौदहमा परम्परागत रूपमा जल यज्ञ विधिबाट नागनागिनीको पूजा गर्ने चलन रहे पनि पछिल्ला वर्षमा उक्त विधि हराउँदै गएको स्थानीयले बताएका छन्। टौदहको व्यवस्थापन कर्कोटक नागराजा नागरानी व्यवस्थापन समाजले गर्दै आएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्