काठमाडौं । राष्ट्रियसभा सदस्य श्रीकृष्णप्रसाद अधिकारीले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र गृहमन्त्री सुधन गुरुङको ‘हिजोको हुँकार’ हराएको टिप्पणी गरेका छन्।
सोमबार (भदौ १) राष्ट्रियसभा बैठकमा बोल्दै अधिकारीले प्रधानमन्त्री र गृहमन्त्रीका अभिव्यक्तिले गैरजिम्मेवारी र निराशा फैलाएको आरोप लगाए।
जनजीविकादेखि राष्ट्रिय स्वाधीनतासम्मका सवालमा समस्या देखिँदा सरकारका जिम्मेवार पदाधिकारीले समाधानको बाटो देखाउनुपर्नेमा प्रधानमन्त्री र गृहमन्त्रीले निराशा बाँडेको उनको भनाइ छ।
“६ जनाले आलोचना गर्दा प्रधानमन्त्री मध्यरातमा बरबराउनुहुन्छ– म एक्लै भएँ । जनताले भोट माग्दा गरेको प्रतिबद्धता खोइ पूरा गरेको भनेर सोध्दा गृहमन्त्री भन्नुहुन्छ– भोट फिर्ता लिनुस्,” अधिकारीले भने।
उनले प्रश्न गरे, “यति छिट्टै त्यो हिजोको हुँकार कहाँ गयो तपाईंहरूको ? हिजो सरकार चलाउने कुरालाई ख्यालठट्टा ठान्नुभएको थियो ?”
‘मेरिटोक्रेसी’ माथि प्रश्न
सांसद अधिकारीले सरकारले भन्दै आएको ‘मेरिटोक्रेसी’ करार तथा सचिवालयका कर्मचारी नियुक्तिमा देखिनुपर्ने भन्दै प्रश्न उठाए।
उनले फेसबुकबाट ‘भ्युज’ कमाएर आर्थिक लाभ प्राप्त गर्ने प्रधानमन्त्रीको मनसायले सरकारको सुशासनप्रतिको प्रतिबद्धता पनि स्पष्ट भएको भन्दै व्यंग्य गरे।
नागरिकले सरकारबाट ठूलो अपेक्षा राखेको उल्लेख गर्दै अधिकारीले नागरिकको आशालाई चरम निराशामा परिणत नगर्न सरकारलाई आग्रह गरे।
Originally published on abcnews.com.np.

















प्रतिक्रिया दिनुहोस्