काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुनले पछिल्लो दुई सातामा आफ्नो गृहजिल्ला रोल्पामा बाढीपहिरो र चट्याङका कारण २२ जनाको मृत्यु भएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै पुनले साउन महिनाको पछिल्लो दुई सातामा रोल्पाका विभिन्न क्षेत्रमा प्राकृतिक विपत्तिका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको बताए।
उनका अनुसार साउन २७ गते थवाङ गाउँपालिकाको उवा क्षेत्रमा गएको भीषण पहिरोमा १३ जनाको मृत्यु भएको थियो। त्यसको भोलिपल्ट सुनछहरी गाउँपालिकाको सेरममा पहिरोमा परी चार जनाले ज्यान गुमाएका थिए।
त्यसैगरी साउन ३० गते लुंग्री गाउँपालिकाको धैरेनीमा एक जनाको मृत्यु भएको उनले बताए। सेरममै पहिरोमा परी थप दुई जना तथा परिवर्तन गाउँपालिकाको पाछावाङमा एक जनाको मृत्यु भएको पुनले जानकारी दिए। लुंग्री गाउँपालिका–१ मा चट्याङ लागेर एक जनाको मृत्यु भएको उनले बताए।
प्राकृतिक विपत्तिमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पुनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे। उनले आफूले यस विषयमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई भेटेरै ध्यानाकर्षण गराइसकेको पनि सदनलाई जानकारी गराए।
खोज, उद्धार र राहत प्रभावकारी बनाउन माग
सांसद पुनले विपद्को पूर्वतयारीदेखि खोज, उद्धार र राहतसम्मका सरकारी संयन्त्रलाई थप प्रभावकारी बनाउन सरकारसँग माग गरे।
पहिरो प्रभावित क्षेत्रमा उद्धार तथा राहत सामग्री तत्काल पुर्याउनुपर्ने उनको भनाइ छ। पहिरोका कारण अवरुद्ध सुलिचौर–उवा–थवाङ सडक तत्काल सञ्चालनमा ल्याउन उनले माग गरे।
सडकसँगै खानेपानी र पुलमा समेत क्षति पुगेकाले तिनको पुनर्निर्माण गर्नुपर्ने उनले बताए। रोल्पामा पटक–पटक पहिरो जाने क्षेत्रको दीर्घकालीन जोखिम पहिचान गर्न तत्काल भौगर्भिक अध्ययन टोली पठाउन पनि पुनले सरकारसँग आग्रह गरे।
त्यस्तै, प्रभावित बस्तीको पुनर्स्थापना तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि आवश्यक व्यवस्था गर्न उनले सरकारको ध्यानाकर्षण गराए।
Originally published on abcnews.com.np.

















प्रतिक्रिया दिनुहोस्