काठमाडौं । जनआस्था दैनिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आफूलाई लागुऔषधसम्बन्धी मुद्दामा पक्राउ परेका अभियुक्तहरूसँगै थुनामा राखिएको भन्दै सर्वोच्च अदालतको इजलाससमक्ष गुनासो गरेका छन्।
सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा श्रेष्ठका तर्फबाट कानुन व्यवसायी र सरकारी पक्षका कानुन व्यवसायीबीच बहस सकिएपछि उनलाई आफ्नो भनाइ राख्ने अवसर दिइएको थियो। त्यसक्रममा श्रेष्ठले आफूलाई हिरासतमा राखिएको अवस्थाबारे इजलासलाई जानकारी गराएका हुन्।
श्रेष्ठले आफूलाई ५५ जना लागुऔषधसम्बन्धी अभियोगमा पक्राउ परेका व्यक्तिहरूसँगै राखिएको दाबी गरे।
“एउटा कलमजीवीलाई ५५ जना लागुऔषधका अभियुक्तहरूसँगै राखिएको छ। पाँच दिनदेखि राति निदाउन सकेको छैन श्रीमान्,” उनले इजलाससमक्ष भने।
उनले हिरासतमा रहँदा परिवारका सदस्य तथा कानुन व्यवसायीसँग समेत भेटघाट गर्न नदिइएको गुनासो गरे। लागुऔषध प्रयोगकर्ताहरूसँगै राखिएपछि आफूले मानसिक यातना भोग्नुपरेको पनि श्रेष्ठले बताए।
‘पूर्वाग्रह राखेर झूटो मुद्दा लगाइयो’
पत्रकार श्रेष्ठले आफूविरुद्ध सरकारले पूर्वाग्रह राखेर झूटो मुद्दा लगाएको दाबीसमेत इजलाससमक्ष गरेका छन्।
उनले आफू पत्रकार भएकै कारण राज्य पक्षबाट प्रतिशोधपूर्ण व्यवहार गरिएको संकेत गर्दै आफ्नो थुनाको अवस्थाबारे अदालतले गम्भीरतापूर्वक विचार गर्नुपर्ने माग गरेका छन्।
२१ कानुन व्यवसायीको बहस
श्रेष्ठको थुनासम्बन्धी रिटमा सरकारी पक्षबाट चार जना कानुन व्यवसायीले बहस गरेका छन् भने रिट निवेदकका तर्फबाट १७ जना कानुन व्यवसायीले आफ्ना तर्क प्रस्तुत गरेका छन्।
दुवै पक्षको बहस सकिएपछि न्यायाधीशद्वय आदेश लेखनका लागि च्याम्बरमा प्रवेश गरेका छन्। अब इजलासले श्रेष्ठलाई थुनामा राख्ने विषयमा आवश्यक आदेश दिनेछ।
यसअघि पत्रकार श्रेष्ठको हकमा अदालतबाट पक्राउ पूर्जी जारी भएको थियो। पक्राउपछि उनलाई हिरासतमा राखिएको विषयलाई लिएर सर्वोच्चमा रिट निवेदन दायर गरिएको हो।
अब सर्वोच्चको आदेशले श्रेष्ठको थुना निरन्तर रहने वा उनलाई राहत प्राप्त हुने भन्ने विषय स्पष्ट गर्नेछ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्