काठमाडौं । बाढीपहिरोका कारण देशका विभिन्न जिल्लामा ११ वटा मुख्य राजमार्ग तथा सडक अवरुद्ध भएका छन्। नेपाल प्रहरीले मंगलबार बिहान जारी गरेको विवरणअनुसार ती सडकमा यातायात पूर्ण रूपमा ठप्प भएको छ।
प्रहरीका अनुसार इलामको मेची राजमार्ग, काभ्रेको बीपी राजमार्ग, मकवानपुरको कान्ति लोकपथ, सिन्धुपाल्चोकको अरनिको राजमार्ग र रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेसी सडक अवरुद्ध छन्।
यस्तै, लमजुङको बेँसीसहर–मनाङ सडक, मुस्ताङको जोमसोम–कोरला सडक, रुकुमपश्चिमको जाजरकोट–डोल्पा सडक, मुगुको नाग्म–गमगढी सडक र रुकुमपश्चिमकै भेरी करिडोरमा पनि यातायात सञ्चालन हुन सकेको छैन।
अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण सडकमा क्षति पुगेपछि यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ।
अवरुद्ध सडक खुलाउन सम्बन्धित निकायबाट आवश्यक पहल भइरहेको प्रहरीले जनाएको छ। लगातार वर्षा भइरहेकाले पहिरो प्रभावित सडकमा यात्रा गर्दा सावधानी अपनाउनसमेत आग्रह गरिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्