काठमाडौँ । प्रहरीले पत्रकार किशोर श्रेष्ठको निवास र कार्यालयबाट बरामद गरेका सञ्चारसम्बन्धी सामग्री उनकी पत्नी सरस्वती श्रेष्ठलाई हस्तान्तरण गरेको छ।
सर्वोच्च अदालतले मंगलबार श्रेष्ठलाई तत्काल रिहा गर्न परमादेश जारी गर्दै बरामद गरिएका सञ्चारसम्बन्धी सामग्रीसमेत फिर्ता गर्न आदेश दिएपछि प्रहरीले कम्प्युटर, ल्यापटपलगायतका सामान हस्तान्तरण गरेको हो।
प्रहरीले श्रेष्ठको निवास तथा जनआस्थाको कार्यालयबाट ती सामग्री बरामद गरेको थियो। सर्वोच्चको आदेशपछि प्रहरीले आवश्यक प्रक्रिया पूरा गरी सामग्री उनकी पत्नी सरस्वतीलाई बुझाएको जनाएको छ।
यसअघि अदालतबाट श्रेष्ठलाई प्रहरी परिसर भद्रकाली लगिएको थियो। उनलाई मंगलबार नै रिहा गर्ने वा नगर्ने विषयमा प्रहरी र श्रेष्ठका कानुन व्यवसायीबीच केहीबेर छलफल भएको थियो। प्रहरीले भने अदालतको आदेशअनुसार मंगलबार नै रिहा गर्ने प्रतिबद्धता जनाएको छ।
सर्वोच्च अदालतले श्रेष्ठलाई तत्काल रिहा गर्न तथा बरामद गरिएका सञ्चारसम्बन्धी सामग्रीसमेत तत्काल फिर्ता गर्न स्पष्ट निर्देशन दिएको थियो।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्