काठमाडौं । ललितपुर जिल्ला अदालतले पत्रकार किशोर श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी गर्न अस्वीकार गरेको छ।
ललितपुर प्रहरीले पक्राउ पुर्जीको अनुमति माग्दै सोमबार र मंगलबार अदालतमा निवेदन दिएको थियो। तर आवश्यक कागजात पूरा नभएको भन्दै अदालतले पक्राउ पुर्जी जारी नगरी प्रहरीलाई फिर्ता पठाएको हो।
ललितपुर जिल्ला अदालतका सूचना अधिकारी टीकाध्वज कार्कीका अनुसार सोमबार र मंगलबार दुवै दिन प्रहरी पक्राउ पुर्जीको माग लिएर अदालत पुगेको थियो। उनले आवश्यक कागजातविना पक्राउ पुर्जी जारी गर्न नमिल्ने भएकाले प्रहरीको माग फिर्ता गरिएको बताए।
यसैबीच, पत्रकार श्रेष्ठले आफूलाई पक्राउ नगर्न माग गर्दै उच्च अदालत पाटनमा अन्तरिम आदेशको मागसहित रिट निवेदन दायर गरेका छन्। उनले उपसभामुख रुबीकुमारी ठाकुरले ललितपुर प्रहरीमा दिएको जाहेरीका आधारमा हुनसक्ने पक्राउ रोक्न माग गरेका हुन्।
श्रेष्ठले अनुसन्धानमा आफू स्वयं उपस्थित हुने प्रतिबद्धतासहित रिट दायर गरेको बताइएको छ।
सर्वोच्चबाट यसअघि रिहाइको आदेश
यसअघि प्रहरीले श्रेष्ठलाई साउन २७ गते एक समाचारसम्बन्धी जाहेरीका आधारमा पक्राउ गरेको थियो। वैयक्तिक गोपनीयता हननसम्बन्धी आरोपमा पक्राउ परेका श्रेष्ठलाई सोमबार सर्वोच्च अदालतले रिहा गर्न परमादेश दिएको थियो।
सर्वोच्चको आदेशपछि उपसभामुख ठाकुरले श्रेष्ठविरुद्ध दिएको जाहेरीका आधारमा प्रहरीले पुनः पक्राउको प्रक्रिया अघि बढाएको थियो। तर जिल्ला अदालतले आवश्यक कागजात नपुगेको भन्दै तत्काल पक्राउ पुर्जी जारी गर्न अस्वीकार गरेको हो।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्