हेटौँडा । बागमती प्रदेशमा नेकपा (एमाले) संसदीय दलको नेतामा जगन्नाथ थपलियालाई निरन्तरता दिने र किरण थापालाई मुख्यमन्त्रीका रूपमा अघि सार्ने सहमति भएको छ।
मंगलबार हेटौँडामा बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले यस्तो सहमति गरेको हो। बैठकमा एमाले सचिव तथा बागमती प्रदेश इन्चार्ज महेश बस्नेत, प्रदेश अध्यक्ष कैलाश ढुंगेल, उपाध्यक्ष दावा दोर्जे लामालगायत नेताहरू सहभागी थिए।
यसअघि साउन २७ गते एमालेका १६ जना प्रदेशसभा सदस्यले थपलियाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्दै किरण थापालाई संसदीय दलको नेता बनाउन माग गरेका थिए। पार्टी नेतृत्वको पहलमा थपलियालाई संसदीय दलको नेतामै कायम राख्ने र थापालाई मुख्यमन्त्री बनाउने गरी सहमति जुटाइएको हो।
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको धारा १६८ को उपधारा (२) अनुसार बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरिसकेका छन्। दाबी पेस गर्ने समय बिहीबार अपराह्न ४ बजेसम्म तोकिएको छ।
बहुमत जुटाउन थप दुई सांसद आवश्यक
एमाले–नेकपा गठबन्धनसँग हाल ५१ जना प्रदेशसभा सदस्य रहेको बताइएको छ। थापालाई मुख्यमन्त्री बनाउन बहुमत पुर्याउन थप दुई सांसदको समर्थन आवश्यक पर्नेछ।
बहुमत जुटाउन एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) सँग छलफल गर्ने तयारी गरेको नेता किरण थापाले बताएका छन्।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्