काठमाडौं । पाकिस्तानको सर्वोच्च अदालतले जेलमा रहेका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई)का संस्थापक इमरान खानलाई स्वास्थ्य परीक्षणका लागि इस्लामाबादस्थित शिफा इन्टरनेसनल अस्पताल लैजान आदेश दिएको छ।
अदालतले इमरान खानलाई परिवारका सदस्यसँग हरेक साता भेटघाट गर्न दिने व्यवस्था मिलाउन पनि सम्बन्धित जेल प्रशासनलाई निर्देशन दिएको छ।
स्वास्थ्य परीक्षण तथा अस्पतालमा भर्ना गराउने मागसहित दायर याचिकामाथि मंगलबार न्यायाधीश शाहिद वाहिदको नेतृत्वमा रहेको तीन सदस्यीय इजलासमा सुनुवाइ भएको थियो। इजलासमा न्यायाधीश नइम अख्तर अफगान र न्यायाधीश इश्तियाक इब्राहिमसमेत थिए।
सुनुवाइपछि सर्वोच्च अदालतले आवश्यक प्रक्रिया पूरा गरी इमरान खानलाई स्वास्थ्य परीक्षणका लागि शिफा इन्टरनेसनल अस्पताल लैजान सम्बन्धित अधिकारीलाई निर्देशन दिएको हो। अदालतको आदेशअनुसार उनलाई केही दिनभित्रै अस्पताल लगिने बताइएको छ।
आँखाको दृष्टिमा सुधार
यसैबीच, रावलपिन्डीस्थित अदियाला जेल प्रशासनले सोमबार सर्वोच्च अदालतलाई इमरान खानको आँखाको दृष्टिमा उल्लेखनीय सुधार आएको जानकारी दिएको छ।
जेल अधिकारीका अनुसार उनको आँखाको दृष्टि अहिले लगभग सामान्य अवस्थामा फर्किएको छ। इमरान खानको स्वास्थ्य अवस्थासम्बन्धी मुद्दामा अदालतमा सुनुवाइ भइरहेका बेला जेल प्रशासनले स्वास्थ्यसम्बन्धी प्रतिवेदन पेस गरेको हो।
अदालतको पछिल्लो आदेशसँगै इमरान खानको स्वास्थ्य परीक्षण, उपचार तथा परिवारसँग नियमित भेटघाटको विषयमा जेल प्रशासनमाथि थप जिम्मेवारी परेको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्