पोखरा । रेडियो नेपालबाट पहिलोपटक मगर भाषामा समाचार प्रसारण भएको ऐतिहासिक दिनको स्मरण गर्दै पोखरामा आयोजित कार्यक्रममा पत्रकार मीनाकुमारी थापामगर र मनसुधन थापामगर सम्मानित भएका छन्।
नेपाल मगर पत्रकार संघ कास्कीले पोखरा महानगरपालिका–२१ ठूलीस्वाँरामा आयोजना गरेको **‘३२औँ मगर प्रसारण दिवस, सम्मान तथा अन्तरक्रिया कार्यक्रम’**मा उनीहरूलाई सम्मान गरिएको हो।
मगर भाषामा समाचार वाचन तथा कार्यक्रम सञ्चालनमार्फत मातृभाषाको पत्रकारितामा योगदान पुर्याएको भन्दै पत्रकारद्वयलाई सम्मान गरिएको आयोजकले जनाएको छ। मीनाकुमारीले पोखरामा रहेर पत्रकारिता गरिरहेकी छन् भने मनसुधन हाल बेलायतबाट पत्रकारितामा सक्रिय छन्।
उनीहरूलाई गण्डकी प्रदेशसभा सदस्य राजकुमारी भुजेल, नेपाल मगर पत्रकार संघका उपाध्यक्ष एमबी आस्थामगर, उपमहासचिव रुद्र श्रीसमगर तथा नेपाल मगर संघका उपाध्यक्ष हर्क आलेमगरलगायतले सम्मानपत्र, माला र खादासहित सम्मान गरे।
भाषा हराए समुदायको अस्तित्व संकटमा पर्छ
कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य राजकुमारी भुजेलले आदिवासी जनजाति समुदायको पहिचान भाषा, संस्कार र संस्कृतिसँग प्रत्यक्ष रूपमा जोडिएको बताइन्।
भाषा र संस्कार हराउँदै गए समुदायको मौलिक पहिचानसमेत संकटमा पर्ने उनको भनाइ थियो।
‘हाम्रो भाषा, रीतिरिवाज र संस्कृति हराएमा हामी आफैँ हराएर जाने अवस्था सिर्जना हुनेछ,’ उनले भनिन्, ‘त्यसैले नयाँ पुस्तालाई समेत हाम्रो संस्कार र संस्कृतिका विषयमा जानकारी गराउनु आवश्यक छ।’
भाषा र संस्कृतिको संरक्षण कुनै एक व्यक्ति वा संस्थाको मात्र जिम्मेवारी नभई सम्बन्धित समुदायका सबै सदस्यको साझा दायित्व भएको उनले बताइन्।
सम्मानले थप जिम्मेवारीबोध गराएको प्रतिक्रिया
सम्मानित पत्रकार मीनाकुमारी थापामगरले प्राप्त सम्मानलाई व्यक्तिगत उपलब्धिभन्दा पनि मगर भाषा र संस्कृतिका क्षेत्रमा आफूले गरेको योगदानको कदरका रूपमा लिएको बताइन्।
उनले सम्मानले मातृभाषा, संस्कृति र पहिचान संरक्षणका क्षेत्रमा अझ सक्रिय भएर काम गर्न थप प्रेरणा मिलेको बताइन्।
आफ्नो क्षेत्रबाट भाषा र संस्कृति संरक्षणमा सबैले योगदान पुर्याउनुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो।
समुदायभित्रै सहभागिता बढाउनुपर्नेमा जोड
पोखरा महानगरपालिका–२१ का वडा सदस्य कृष्णबहादुर राना मगरले मगर समुदायका सदस्यहरू आफ्नै समुदायका कार्यक्रममै पर्याप्त रूपमा सहभागी नहुनु चिन्ताको विषय भएको बताए।
नेपालको जनगणनाअनुसार मगर समुदाय जनसंख्याका आधारमा तेस्रो ठूलो समुदाय भए पनि मगर समुदायका महत्वपूर्ण पर्व तथा सांस्कृतिक अवसरमा सार्वजनिक बिदा नदिइनु दुःखद भएको उनको भनाइ थियो।
उनले मातृभाषा, संस्कृति र पर्व संरक्षणका लागि राज्यले समेत आवश्यक नीति र कार्यक्रम बनाउनुपर्नेमा जोड दिए।
मातृभाषा संरक्षणमा पत्रकारिताको भूमिका
कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय भाषिक उपाध्यक्ष हर्क आलेमगर, नेपाल मगर पत्रकार संघका केन्द्रीय उपाध्यक्ष एमबी आस्थामगर, केन्द्रीय उपमहासचिव रुद्रबहादुर श्रीसमगर, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष धनबहादुर गुरुङ ‘सुमन’लगायतले मातृभाषाको संरक्षणमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताए।
ठूलीस्वाँरा उज्ज्वल तथा सामाजिक सेवा आमा समूहकी अध्यक्ष रोशनी रानामगर र ठूलीस्वाँरा टोल विकास समितिका अध्यक्ष नरबहादुर रानामगरलगायतले पनि भाषा र संस्कृति संरक्षणका लागि नयाँ पुस्तालाई जोड्नुपर्ने धारणा राखे।
कार्यक्रम नेपाल मगर पत्रकार संघ कास्कीका अध्यक्ष सुरज थापामगरको अध्यक्षतामा भएको थियो। संस्थाकी सदस्य गीता रानामगरले कार्यक्रम सञ्चालन गरेकी थिइन्।
२०५१ सालदेखि मगर भाषामा समाचार
वि.सं. २०५१ साल भदौ १ गते रेडियो नेपालबाट पहिलोपटक मगरसहित विभिन्न आठ मातृभाषामा समाचार प्रसारण सुरु भएको थियो। यही ऐतिहासिक दिनको स्मरणमा नेपाल मगर पत्रकार संघ कास्कीले हरेक वर्ष मगर प्रसारण दिवस मनाउँदै आएको छ।
मातृभाषामा सञ्चारको अभ्यासलाई निरन्तरता दिने तथा मगर भाषाको पत्रकारितामा योगदान पुर्याउने पत्रकारलाई सम्मान गर्ने उद्देश्यले कार्यक्रम आयोजना हुँदै आएको आयोजकले जनाएको छ।
यसअघि उक्त सम्मानबाट पत्रकार हर्क आलेमगर र खेम सारुमगर सम्मानित भइसकेका छन्।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्