पोखरा । अविरल वर्षापछि मोदीखोलामा आएको बाढीमा फसेका तीन जनाको सकुशल उद्धार गरिएको छ।
कास्कीको अन्नपूर्ण गाउँपालिका–५ हाइजुङस्थित अन्नपूर्ण माता मन्दिरमा बस्दै आएका पुजारी भारतको हिमाञ्चल प्रदेशका ४८ वर्षीय निर्माण गिरी, विरेठाँटी माध्यमिक विद्यालयका शिक्षक २३ वर्षीय रेवन्तप्रसाद सिंह र पोखरा–१८ सराङकोटका २८ वर्षीय प्रदीप ढकालको उद्धार गरिएको हो।
बिहीबार राति परेको अविरल वर्षाका कारण मोदीखोलामा बाढी आएपछि उनीहरू खोलाबीचको एउटा सानो भग्नावशेषमा फसेका थिए। प्रहरीचौकी नयाँपुलका प्रहरी सहायक निरीक्षक रमेश अधिकारीका अनुसार डोरीको सहायताले उनीहरूको उद्धार गरिएको हो।
कास्की प्रहरीका निमित्त प्रमुख डीएसपी वीरेन्द्रकुमार पासवानका अनुसार उद्धार गरिएका तीनै जनालाई पोखरा ल्याएर स्वास्थ्य परीक्षण गरिनेछ। स्वास्थ्य परीक्षणपछि उनीहरूलाई आफन्तको जिम्मा लगाइने उहाँले बताउनुभयो।
तीन जना बाढीमा फसेको खबर पाएपछि शुक्रबार बिहान करिब १ः३० बजे प्रहरी सहायक निरीक्षक अधिकारीको कमान्डमा चार जना प्रहरीको टोली घटनास्थल पुगेको थियो।
त्यस्तै, सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण, कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक शरणबहादुर खड्काको कमान्डमा १३ सदस्यीय विपद् व्यवस्थापन टोलीसमेत उद्धारका लागि परिचालन गरिएको थियो।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्