काठमाडौं । मधेश केन्द्रित दलसहितको अग्रगामी मोर्चाले आगामी प्रदेश निर्वाचनसम्म कुनै पनि घटक दल प्रदेश सरकारमा सहभागी नहुने निर्णय गरेको छ।
आज बसेको मोर्चाको बैठकले सर्वसम्मत रूपमा प्रदेश सरकारमा सहभागी नहुने निर्णय गरेको हो। मोर्चाले प्रदेश सरकारमा सहभागी नहुने निर्णयसँगै लुम्बिनी प्रदेशमा जसपा नेपालका सांसदलाई मन्त्री बनाइएको विषयमा समेत आपत्ति जनाएको छ।
मोर्चाले लुम्बिनी प्रदेशमा एमाले नेतृत्वको सरकारले संसदीय व्यवस्थाको मूल्य, मान्यता र मर्यादाविपरीत जसपा नेपालका प्रदेश सभा सदस्यलाई मन्त्री पदको शपथ गराएको आरोप लगाएको छ। मोर्चाले उक्त निर्णय तत्काल सच्याउन माग गरेको छ।
पार्टीको निर्देशनविपरीत सरकारको पक्षमा मतदान गराउने तथा सांसदलाई सरकारमा सहभागी गराउने कार्य संसदीय व्यवस्था र लोकतान्त्रिक प्रणालीको मान्यताविपरीत भएको मोर्चाको निष्कर्ष छ। मोर्चाले यसलाई अनैतिक कार्यको संज्ञा दिँदै तत्काल सुधार गर्न माग गरेको हो।
बैठकले प्रदेश निर्वाचनसम्म आफ्ना कुनै पनि घटक दल प्रदेश सरकारमा सहभागी नहुने निर्णयलाई सर्वसम्मत रूपमा पारित गरेको मोर्चाले जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्