काठमाडौँ । काठमाडौँ विश्वविद्यालयमा गरिएको अनुसन्धान तथा विभिन्न सहकार्यका आधारमा तयार पारिएको ‘ग्रिन हाइड्रोजन इन नेपाल : स्ट्राटेजिक पाथवेज फर डिप डिकार्बोनाइजेसन एन्ड इन्डस्ट्रियल ट्रान्सफर्मेसन’ पुस्तक सार्वजनिक गरिएको छ ।
नेपालको ऊर्जा रूपान्तरण, औद्योगिक क्षेत्रको कार्बन उत्सर्जन न्यूनीकरण तथा दिगो आर्थिक विकासमा हरित हाइड्रोजनको सम्भावना र रणनीतिक मार्गबारे केन्द्रित पुस्तकको संयुक्त रूपमा विमोचन गरिएको हो ।
पुस्तकको विमोचन त्रिभुवन विश्वविद्यालयका उपकुलपति तथा काठमाडौँ विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. भोला थापा, काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा. विवेक बराल तथा काठमाडौँ विश्वविद्यालयका प्राध्यापक प्रा. भूपेन्द्र विमल क्षेत्रीले गरेका हुन् ।
पुस्तकका लेखक डा. विराजसिंह थापा काठमाडौँ विश्वविद्यालयको मेकानिकल इन्जिनियरिङ विभागका सहप्राध्यापक तथा ग्रिन हाइड्रोजन ल्याबका प्रमुख हुन् । उनी दुई दशकदेखि नवीकरणीय ऊर्जा, जलविद्युत्, हरित हाइड्रोजन तथा औद्योगिक डिकार्बोनाइजेसनका क्षेत्रमा अनुसन्धान, प्रविधि विकास र नीतिगत अध्ययनमा सक्रिय छन् ।
ग्रिन हाइड्रोजन ल्याबका अनुसन्धानकर्ता, विद्यार्थी तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय सहकार्यका साझेदारहरूको संयुक्त प्रयासमा तयार पारिएको पुस्तकमा नेपालमा हरित हाइड्रोजनको उत्पादन, भण्डारण, ढुवानी तथा औद्योगिक प्रयोगका सम्भावनाबारे विस्तृत रूपमा चर्चा गरिएको छ ।
जलविद्युत् स्रोतको उपयोग गरी हरित हाइड्रोजन उत्पादनमार्फत ऊर्जा सुरक्षा सुदृढ गर्ने, आयातित जीवाश्म इन्धनमाथिको निर्भरता घटाउने तथा हरित औद्योगिकीकरणलाई गति दिने विषयलाई पुस्तकले प्राथमिकतामा राखेको छ ।
नेपाल सरकारले पनि हरित हाइड्रोजन विकासका लागि नीतिगत पहल अघि बढाइरहेको छ । हरित हाइड्रोजन नीतिको तयारी, करसम्बन्धी प्रोत्साहनका व्यवस्था तथा २.५ मेगावाट क्षमताको व्यावसायिक पाइलट परियोजनाको घोषणाले नेपालमा यस क्षेत्रको विकासका लागि नयाँ सम्भावना सिर्जना गरेको पुस्तकमा उल्लेख छ ।
काठमाडौँ विश्वविद्यालयले नवीकरणीय ऊर्जा, हरित हाइड्रोजन तथा दिगो औद्योगिक विकासका क्षेत्रमा अनुसन्धान, नवप्रवर्तन र ज्ञान सिर्जनालाई निरन्तरता दिँदै थप सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ ।
पुस्तकको निःशुल्क प्रति प्राप्त गर्न इच्छुकले [email protected] मा इमेल गर्न सक्ने बताइएको छ ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्