म्याग्दी । कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’को सम्मान तथा स्मृतिमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले उहाँको जन्मथलो दानामा शालिक निर्माण गर्ने भएको छ।
अन्नपूर्ण गाउँपालिकाको गाउँ कार्यपालिकाको बुधबार बसेको बैठकले पाकिस्तानको ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी ज्यान गुमाएका १० सदस्यीय पर्वतारोहण टोलीका नेता पुर्जाको सम्मानमा शालिक निर्माण गर्ने निर्णय गरेको हो।
गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनका अनुसार परिवारका सदस्यहरूको इच्छाअनुसार पुर्जाको साहस, बहादुरी, विश्व कीर्तिमान र योगदानको सम्मानस्वरूप अन्नपूर्ण गाउँपालिका–३ दानामा शालिक निर्माण गरिनेछ।
‘परिवारका सदस्यहरूको इच्छाअनुसार निर्मलको साहस, बहादुरी र कीर्तिमान तथा योगदानको सम्मानमा अन्नपूर्ण गाउँपालिकाले शालिक बनाउने निर्णय गरेको हो,’ अध्यक्ष पुनले भने।
अन्नपूर्ण हिमालको नाम ‘निम्सदाई अन्नपूर्ण’ राख्न सिफारिस
गाउँपालिकाले पुर्जाको जन्मभूमिमा पर्ने ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको नामकरण परिवर्तन गरी ‘निम्सदाई अन्नपूर्ण’ राख्न संघीय सरकारसमक्ष सिफारिससमेत गरेको छ।
अन्नपूर्ण गाउँपालिकाको भूगोलसँग जोडिएको तथा पुर्जाको पर्वतारोहण यात्रासँग समेत विशेष सम्बन्ध रहेको अन्नपूर्ण प्रथमलाई उनको योगदानको सम्मानमा नयाँ नाम दिनुपर्ने प्रस्ताव गाउँपालिकाले अघि सारेको हो।
यसैगरी, अन्नपूर्ण प्रथमका प्रथम आरोही फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको नामबाट नामकरण गरिएको नारच्याङ–अन्नपूर्ण आधार शिविर पदमार्गलाई ‘निम्सदाई मौरिस हर्जोग’ नामकरण गर्ने विषयमा समेत प्रक्रिया अघि बढाइने अध्यक्ष पुनले बताए।
उनका अनुसार यस विषयमा हर्जोगको परिवारसँग आवश्यक परामर्श गरेपछि निर्णय लिइनेछ।
‘प्रोजेक्ट पसिबल’बाट विश्व कीर्तिमान
निर्मल पुर्जाले सन् २०१९ मा ‘प्रोजेक्ट पसिबल’ अभियान सुरु गरेका थिए। अन्नपूर्ण हिमालबाट सुरु गरिएको उक्त अभियानमा उनले विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल ६ महिना ६ दिनमा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए।
उनले छोटो अवधिमा विश्वका सबै १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गर्ने कीर्तिमान बनाएका थिए।
पुर्जा १८ वर्षको उमेरमा सन् २००३ मा ब्रिटिस गोर्खा रेजिमेन्टमा भर्ती भएका थिए। सन् २००९ मा उनी बेलायतको विशेष फौज ‘स्पेसल बोट सर्भिस’ (एसबीएस)मा आबद्ध भएका थिए।
विश्वका १४ वटा आठ हजार मिटर अग्ला हिमाल अक्सिजनबिना दुईपटक आरोहण गर्ने कीर्तिमानसमेत बनाएका पुर्जाको ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएको हो।
शिक्षा क्षेत्रमा पनि योगदान
पर्वतारोहणसँगै पुर्जाले आफ्नो जन्मथलोका विद्यार्थीका लागि शैक्षिक सहयोगसमेत गर्दै आएका थिए।
तीन वर्षअघि उनले घोषणा गरेको ४० लाख रुपैयाँको अक्षयकोषबाट प्राप्त ब्याज रकममार्फत ज्ञान प्रकाश नमुना माध्यमिक विद्यालयका कक्षा ८, १० र १२ मा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार प्रदान गरिँदै आएको छ।
त्यसैगरी दानाका अन्य चारवटा आधारभूत विद्यालयका विद्यार्थीलाई समेत अक्षयकोषको ब्याजबाट शैक्षिक सामग्री सहयोग हुँदै आएको छ।
गाउँपालिकाले शालिक निर्माण तथा अन्नपूर्ण हिमाल र पदमार्गको नामकरणसम्बन्धी पहललाई पुर्जाको साहस, योगदान र पर्वतारोहण क्षेत्रमा स्थापित विश्व कीर्तिमानलाई दीर्घकालीन रूपमा स्मरण गर्ने प्रयासका रूपमा अघि बढाएको जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्