काठमाडौं । कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले सरकारले आफ्नो आवाज नसुनेको गुनासो गर्दै आफू फेरि अमेरिका फर्किएको बताएका छन्।
दुई महिना निरन्तर प्रयास गर्दा पनि न्याय नपाएपछि छोरीसहित अमेरिका फर्किन बाध्य भएको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्।
कट्टेलले यसपटक न्याय पाउने र आफ्नै देशमा दुःख–सुख साट्दै फेरि दर्शकलाई हँसाउने ठूलो सपना बोकेर मातृभूमि फर्किएको बताएका छन्। तर, राज्यका विभिन्न निकायमा पुगेर समस्या समाधानका लागि आग्रह गर्दा पनि सुनुवाइ नभएको उनको गुनासो छ।
उनका अनुसार भरतपुर महानगरपालिकाबाट १५ करोड रुपैयाँ विनियोजन भएको बजेटसमेत फ्रिज हुने अवस्था आएको छ। उनले १८ करोड ४३ लाख रुपैयाँको आर्थिक दायित्व, अधुरा सपना र पीडा बोकेर मातृभूमिबाट पुनः फर्किनुपरेको बताएका छन्।
‘दुई महिना अथक प्रयास गरेँ। राज्यका ढोका–ढोका पुगेँ। न्यायको आशामा राज्यलाई गुहारेँ। तर न राज्यले मेरो आवाज सुन्यो, न त आफ्नो पीडा मन खोलेर सुनाउने अवसर नै पाएँ,’ उनले लेखेका छन्।
कट्टेलले आफ्नै देशमा न्याय खोज्दा आफ्नो आवाज बेवारिसे भएको अनुभूति भएको बताएका छन्। देशमा इमानदारीपूर्वक केही गरौँ र आफ्नै माटोलाई केही दिऔँ भन्ने सपना देख्नेहरूको नियति यस्तै हुने हो कि भन्ने प्रश्नसमेत उनले गरेका छन्।
‘१० वर्ष आफ्नो उर्वर समय समाज र राष्ट्रका लागि समर्पण गर्दा राज्यबाट पाएको प्रोत्साहन सायद यही होला,’ उनले लेखेका छन्।
राज्यको व्यवहारबाट आफू निकै निराश भए पनि भविष्यप्रतिको आशा भने नछोडेको उनले बताएका छन्। कुनै दिन राज्यले आफूहरूको समस्या सम्झने, सत्य बाहिर आउने र संघर्षको मूल्य बुझिने विश्वास उनले व्यक्त गरेका छन्।
‘मन निकै भारी भएको छ। ओठ कापेका छन्। आँखा रसाएका छन्। तर हृदयको कुनै कुनामा आशा अझै बाँकी छ,’ उनले भनेका छन्।
उनले चाँडै पुनः नेपाल फर्किएर दर्शक तथा शुभेच्छुकसँग भेट हुने आशा व्यक्त गर्दै सबैप्रति माया र सम्मान व्यक्त गरेका छन्।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्