काठमाडौं । सुरेश थापा ‘दर्शने’को लेखन तथा निर्देशनमा निर्माण भएको टेलिशृंखला ‘जुनी’ को टिजर सार्वजनिक गरिएको छ। निर्माण टिमले काठमाडौंस्थित जय नेपाल हलमा स्रष्टा सम्मान कार्यक्रम आयोजना गर्दै सिरियलको टिजर सार्वजनिक गरेको हो।
कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा प्रष्ट मिडिया प्रालिको तर्फबाट पछिल्लो समय टेलिसिरियलमा सक्रिय कलाकार तथा स्रष्टालाई सम्मान गरिएको थियो।
सम्मानित हुनेमा निर्देशक दीपक आचार्य ‘काकु’, दमन रुपाखेती, ‘हर्के हल्दार’का निर्देशक इन्द्र डोङ लामा, कलाकार विनोद श्रेष्ठ, सुनिशा बजगाईं, बालकृष्ण ओली, सहिन प्रजापति, साम्या कार्की, अनिता बैजु, रामचन्द्र बोहरा, प्रशन्नसा कार्की र सरोज घिमिरेलगायत थिए।
सिरियलको मुख्य भूमिकामा कमला घिमिरे र रञ्जित पौडेल छन्। यस्तै विष्णु सापकोटा ‘हर्के हल्दार’, अशोक शिवाकोटी, यादव देवकोटा ‘सरापे’, सरिता काफ्ले, सरस्वती अधिकारी, प्रभाकर न्यौपाने, सामना सिटौला, बविन राई, युगज्योति क्रियासिल, रोहित कार्की, सुस्मा सिलवाल, राधा शाही ठकुरी, कमला न्यौपाने, अच्युत कार्की, सपना त्रिपाठीलगायत कलाकारले अभिनय गरेका छन्। बाल कलाकारका रूपमा सोफिया त्रिपाठी र आदर्श कार्की रहेका छन्।
टिजर सार्वजनिक कार्यक्रममा निर्देशक थापाले आफूले पछिल्लो समय चलिरहेका कथाभन्दा फरक विषयवस्तु र प्रस्तुति दिने प्रयास गरेको बताए। उनका अनुसार सिरियलको पहिलो चरणमा ५२ एपिसोड निर्माण तथा प्रसारण गर्ने योजना छ। सिरियलको प्रसारण मिति भने सार्वजनिक गरिएको छैन।
प्रष्ट मिडिया प्रालिको प्रस्तुति रहेको ‘जुनी’का निर्माता विज्ञान सापकोटा र सौगात छेत्री हुन्। मुख्य सहायक निर्देशक योगेश भण्डारी रहेका छन्।
सञ्जय राई र विष्णु भण्डारीले छायांकन गरेको सिरियलको सम्पादन तथा कलर विनोद बमले गरेका छन्। सिरियलको शीर्ष गीत निर्देशक सुरेश थापाकै शब्दमा तयार भएको हो। भीम बीसीको संगीत तथा संगीत संयोजन रहेको गीतमा गायक सुरज पण्डित र गायिका अस्मिता अधिकारीको स्वर रहेको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्