काठमाडौं । संसदीय समितिले एलपीजी ग्यासको खपत, व्यवस्थापन र सुरक्षालाई प्रभावकारी बनाउन आधुनिक प्रविधिमा आधारित ट्रयाकिङ प्रणाली लागू गर्न निर्देशन दिएको छ।
बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सभापति रहबर अन्सारीले समितिको तर्फबाट यस्तो निर्देशन दिएका हुन्।
सभापति अन्सारीले ग्यास सिलिन्डरको व्यवस्थित लगत राख्नुका साथै व्यावसायिक र घरायसी प्रयोजनका सिलिन्डर छुट्याउने व्यवस्था गर्नुपर्नेमा जोड दिए।
उनले नेपाल आयल निगमले उपभोक्तालाई दिँदै आएको सहुलियतलाई निगमले व्यहोरेको ‘घाटा’का रूपमा मात्र बुझ्न नहुने बताए। व्यावसायिक प्रयोजनमा प्रयोग हुने सिलिन्डर नाफासहित बिक्री गर्न सके निगमको वित्तीय अवस्था सुधार हुने र त्यसबाट घरायसी उपभोक्तालाई थप राहत दिन सकिने उनको भनाइ थियो।
प्रत्येक सिलिन्डरको डिजिटल प्रोफाइल बनाउन प्रस्ताव
सभापति अन्सारीले सुरक्षा र गुणस्तर सुनिश्चित गर्न प्रत्येक ग्यास सिलिन्डरको ‘डिजिटल प्रोफाइल’ अर्थात् डिजिटल पहिचान तयार पार्नुपर्ने प्रस्ताव अघि सारे।
डिजिटल ट्रयाकिङ प्रणालीमार्फत सिलिन्डरको रोटेसन, बजारमा रहेको मौज्दात तथा वितरणको अवस्थाबारे सहजै जानकारी लिन सकिने र यसबाट ग्यास सिलिन्डरबाट हुने दुर्घटनाको जोखिमसमेत न्यूनीकरण गर्न सकिने उनले बताए।
उनले नेपाल आयल निगमले बजारमा ग्यास वितरण प्रणालीलाई थप व्यवस्थित बनाउन आवश्यक कदम चाल्नुपर्नेमा समेत जोड दिए।
व्यावसायिक र घरायसी सिलिन्डर छुट्याउनुपर्ने
बैठकमा व्यावसायिक तथा घरायसी प्रयोजनका लागि प्रयोग हुने ग्यास सिलिन्डरको स्पष्ट वर्गीकरण गर्नुपर्ने विषयमा पनि जोड दिइएको थियो।
व्यावसायिक प्रयोजनमा प्रयोग हुने ग्यासमा बजारअनुसारको मूल्य कायम गरी प्राप्त हुने आम्दानीबाट घरायसी उपभोक्तालाई सहुलियत दिन सकिने र यसले निगमको वित्तीय व्यवस्थापनमा समेत सहयोग पुग्ने सभापति अन्सारीको भनाइ थियो।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्