काठमाडौं । प्रहरीले काठमाडौं उपत्यकासहित विभिन्न जिल्लाका छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित १५ जनालाई पक्राउ गरेको छ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौंको तारकेश्वर नगरपालिका–७ मनमैजुबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित सोही स्थानका ३६ वर्षीय उमेश मुखिया पक्राउ परेका छन्।
यस्तै, मोरङको पथरी शनिश्चरे नगरपालिका–१० संगम टोलबाट २३ वर्षीय घनश्याम बस्नेत तथा झापाको हल्दीबारी गाउँपालिका–२ कदम चोकबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित भद्रपुर नगरपालिका–७ का २३ वर्षीय सुवास राजवंशी पक्राउ परेका छन्।
प्रहरीका अनुसार सुनसरीको इटहरीबाट चार जना, दाङको तुलसीपुर–९ सल्लेवनबाट दुई जना र लमही नगरपालिका–५ सुनखोलीबाट एक जना पक्राउ परेका छन्।
त्यसैगरी, कपिलवस्तुको कृष्णनगर नगरपालिका–८ बाट ब्राउनसुगरजस्तो देखिने पदार्थ र नगदसहित शिवराज नगरपालिका–९ बानियाभारका २२ वर्षीय अर्जुन सुनारसहित तीन जना पक्राउ परेका छन्।
भक्तपुरको सूर्यविनायक नगरपालिका–६ पाण्डुबजार हाइटबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ट्रामाडोलसहित धादिङको धुनीबेँसी नगरपालिका–२ का २९ वर्षीय सुरज लुइटेल पक्राउ परेका छन्।
यस्तै, धरान उपमहानगरपालिका–१६ शमीचोकबाट सोही स्थानका २१ वर्षीय विदुर कार्कीलाई पनि प्रहरीले पक्राउ गरेको छ।
पक्राउ परेकाहरूका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्