काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले आफूहरू प्रधानमन्त्री कार्यालयमा ‘थुनिएको’ विषयमा स्पष्टीकरण दिएका छन्।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले प्रधानमन्त्री कार्यालयमा अख्तियारका पदाधिकारीलाई थुनिएको विषयमा प्रश्न उठाएपछि राईले त्यसबारे जवाफ दिएका हुन्। उनले पासपोर्ट प्रकरणमा छलफल गर्न प्रधानमन्त्रीले बोलाएपछि आफूहरू प्रधानमन्त्री कार्यालय गएको जानकारी दिए।
‘छलफल गर्न बोलाउन सकिन्छ। उहाँले बोलाएपछि हामी गयौँ, छलफल गर्यौँ। सुझाव लिन बोलाउन सकिन्छ। त्यो विषयमा के भएको हो भनेर, तपाईँहरूले के गरिराख्नुभएको छ भनेर बोलाउन सकिन्छ,’ राईले भने।
प्रधानमन्त्री कार्यालयमा छलफल भएपछि अख्तियारले पासपोर्ट प्रकरणमा मुद्दा दर्ता गरेको उनले बताए। मुद्दा दर्ता भइसकेको र त्यससम्बन्धी अभियोजन पत्र आयोगको वेबसाइटमा समेत हेर्न सकिने उनको भनाइ छ।
‘मुद्दा दर्ता भइसकेको छ। अभियोजन वेबसाइटमै पाइन्छ। अभियोजनमा हामीले त्यो ठिक थियो कि थिएन ? कैफियत कति छ भन्ने कुरा त्यो अभियोजन पत्रै तपाईँहरूले हेर्नुस्, स्पष्ट देख्नुहुन्छ। कैफियतबिना हामीले लगेको अवस्था त छैन,’ उनले भने।
भ्रष्टाचार नियन्त्रणको पहिलो दायित्व सरकारको
अख्तियार प्रमुख राईले भ्रष्टाचार नियन्त्रण गर्ने पहिलो दायित्व सरकारको भएको बताए।
सरकारमा बसेका सबैले ऐन, नियम, कानुन तथा विधि–प्रक्रियाअनुसार काम गरे अख्तियारको आवश्यकता नै नपर्ने उनको भनाइ थियो।
उनले सरकारी निकायबाट कानुन र प्रक्रिया पालना हुने वातावरण बने भ्रष्टाचार नियन्त्रणमा ठूलो सुधार आउने बताए।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्