बर्दिया । धानबालीका लागि आवश्यक रासायनिक मल नपाउँदा बर्दियाका किसान भारतीय सीमावर्ती क्षेत्रबाट महँगो मूल्यमा युरिया खरिद गर्न बाध्य भएका छन्। सरकारी अनुदानको मल आवश्यक मात्रामा र समयमा उपलब्ध हुन नसक्दा किसानले लामो दूरी साइकल चलाएर अवैध रूपमा नेपाल भित्र्याइएको भारतीय मल किन्नुपर्ने अवस्था आएको हो।
मधुवन नगरपालिका–४, बाँदरभरियाकी बुधरानी थारू भदौ ५ गते बिहान ६ बजे युरिया मल खोज्न घरबाट निस्किनुभयो। गुलरिया नगरपालिका–१०, रत्नापुरमा भारतीय युरिया पाइन्छ भन्ने जानकारी पाएपछि उहाँ त्यहाँ पुग्नुभएको थियो।
दिनभर मलको खोजीमा भौँतारिएपछि बल्लतल्ल ५० केजीको एक बोरा युरिया लिएर बुधरानी साँझ करिब ५ बजे घर फर्किनुभयो। आउँदा–जाँदा करिब ७० किलोमिटर साइकल चलाएर मल ल्याउँदा उहाँ निकै थाक्नुभएको थियो।
उहाँसँगै मल किन्न गएकी माया थारूको अवस्था पनि उस्तै थियो। घर फर्किएपछि पिँढीमा बसेर आराम गर्दै उहाँले अझै दुई बोरा मल आवश्यक रहेको बताउनुभयो।
“अझ दुई बोरा मल चाहिन्छ, कसरी ल्याउने हो, सक्दिनँ होला,” उहाँले भन्नुभयो।
सरकारी मल नपाउँदा सीमावर्ती बजारको भर
बर्दियाका धेरै किसान अहिले नेपाल–भारत सीमावर्ती क्षेत्रमा पुगेर भारतीय मल खोजिरहेका छन्। भारतीय बजारमा सस्तो मूल्यमा पाइने युरिया सीमापार भएर नेपाल आइपुग्दा भने किसानले एक बोरा मलका लागि एक हजार आठ सयदेखि दुई हजार रुपैयाँसम्म तिर्नुपरेको छ।
बुधरानीका अनुसार नेपालमा सरकारी अनुदानको मल सहजै पाइएमा एक बोरा युरिया करिब एक हजार एक सय रुपैयाँसम्ममा उपलब्ध हुन सक्छ। तर, सरकारी मल नपाउँदा महँगो मूल्य तिरेर अनौपचारिक माध्यमबाट ल्याइएको मल किन्नुपर्ने बाध्यता छ।
“नेपालमै सहज रूपमा पाइने भए यति महँगोमा किन्नुपर्ने थिएन,” किसानहरू गुनासो गर्छन्।
बाँदरभरियाका हरिराम थारू सरकारी मल वितरण प्रणालीप्रति नै निराश छन्। उनका अनुसार मलका लागि घण्टौँ लाइनमा बस्दा पनि किसानले आवश्यक परिमाण पाउन सक्दैनन्।
“दिनभर लाइन बस्यो, प्रतिविघा १०–१५ किलो मात्रै मल दिन्छन्,” उनले भने।
माग १० हजार मेट्रिक टन, आपूर्ति एकचौथाइ मात्र
कृषि सामग्री कम्पनी लिमिटेड, शाखा कार्यालय गुलरियाका अनुसार बर्दियामा धान सिजनका लागि करिब १० हजार मेट्रिक टन युरिया आवश्यक पर्छ। तर, हालसम्म आपूर्ति भएको परिमाण मागको एकचौथाइ आसपास मात्र रहेको कार्यालयले जनाएको छ।
शाखा प्रमुख दिनेश खनालका अनुसार पहिलो चरणमा सहकारीमार्फत एक हजार २४४ मेट्रिक टन युरिया बिक्री–वितरण गरिएको थियो। दोस्रो चरणमा थप एक हजार २०० मेट्रिक टन युरिया वितरण भइरहेको छ।
यता, रासायनिक मल आपूर्ति गर्ने साल्ट ट्रेडिङ कर्पोरेशन, गुलरिया शाखाका अनुसार धान रोपाइँको सिजनमा असार महिनामै सयौँ मेट्रिक टन युरिया, डीएपी र पोटास बिक्री–वितरण गरिएको थियो। तर, जिल्लाको वास्तविक मागअनुसार आपूर्ति पर्याप्त हुन सकेको छैन।
मल अभावले धान उत्पादनमै असर पर्ने चिन्ता
सरकारी निकायले समेत रासायनिक मलको अभावले बर्दियाको धान उत्पादनमा असर पर्न सक्ने स्वीकार गरेका छन्। एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय, बर्दियाका सूचना अधिकारी फिर्तुमान चौधरीका अनुसार किसानलाई आवश्यक पर्ने कम्तीमा आधा परिमाणको मलसमेत पर्याप्त रूपमा उपलब्ध हुन सकेको छैन।
यसको प्रत्यक्ष असर किसानको उत्पादन लागत र धानको उत्पादकत्वमा पर्न सक्ने देखिएको छ। सरकारी अनुदानको मलको अभावमा किसानले महँगो तथा गुणस्तरप्रति शंका रहेको भारतीय मल प्रयोग गर्न बाध्य भइरहेका छन्।
धान उत्पादनका लागि महत्वपूर्ण समयमा मल अभाव दोहोरिनुले बर्दियामा कृषि आपूर्ति प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ। एकातिर किसान ५० किलोको मल बोकेर ७० किलोमिटर साइकल चलाउन बाध्य छन् भने अर्कोतिर जिल्लाको आवश्यकताको ठूलो हिस्सा अझै सरकारी आपूर्ति प्रणालीले पूरा गर्न सकेको छैन।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्