रसुवा । अविरल वर्षाका कारण जमिन चर्किएर पहिरोको जोखिम बढेपछि रसुवाको नौकुण्ड गाउँपालिका–६ स्थित एकपाखे बस्तीका १० घरधुरीका ३१ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।
प्रहरीका अनुसार बस्तीमुनिको जमिन चर्किएर भासिन सक्ने तथा पहिरोले घरमा क्षति पुर्याउन सक्ने जोखिम देखिएपछि स्थानीय जनप्रतिनिधि र प्रहरीको सहयोगमा उनीहरूलाई कफ्थलीटारस्थित सार्वजनिक स्थानमा स्थानान्तरण गरिएको हो ।
स्थानान्तरण गरिएका १० घरधुरीमा १७ पुरुष र १४ महिला रहेका छन् । उनीहरूको अस्थायी बसोबासका लागि १२ वटा टेन्ट निर्माण गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी पारच्याङबाट खटिएको प्रहरी टोलीले स्थानीयको सहयोगमा जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सारेको हो । प्रहरीले वर्षाका कारण थप जोखिम हुन सक्ने भएकाले आसपासका क्षेत्रमा समेत निगरानी बढाएको जनाएको छ ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्