भोजपुर । बजारको पहुँच विस्तार भएसँगै भोजपुरका ग्रामीण क्षेत्रका किसान व्यावसायिक आलु खेतीतर्फ आकर्षित हुन थालेका छन्। सडक सञ्जाल विस्तार भएपछि व्यापारीहरू गाउँमै पुगेर आलु खरिद गर्न थालेकाले उत्पादन बिक्रीका लागि बजार खोज्दै हिँड्नुपर्ने र ढुवानीको समस्या घटेको किसानले बताएका छन्।
टेम्केमैयुङ गाउँपालिका–५ मझौलेका किसान रामबहादुर विष्टका अनुसार गाउँमै आलु प्रतिकिलो ४० देखि ५० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ। प्राङ्गारिक मल प्रयोग गरेर उत्पादन गरिएको स्थानीय आलुको बजारमा माग राम्रो रहेको उनले बताए। गाउँबाट खरिद गरिएको आलु शहरी बजारमा पुग्दा प्रतिकिलो ६५ देखि ८० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ।
‘पहिले उत्पादन भएको आलु बिक्री गर्न निकै समस्या हुन्थ्यो। उत्पादन गरेर पनि घरमै राख्नुपर्ने अवस्था थियो,’ विष्टले भने, ‘सडकको सुविधा भएपछि व्यापारी गाउँमै आउन थालेका छन्। यसले उत्पादन बिक्री गर्न सहज भएको छ।’
किसान धनराज राईका अनुसार केही वर्षअघिसम्म गाउँबाट आलु बजारसम्म पुर्याउन निकै कठिन थियो। सडक सुविधा नहुँदा भरिया तथा अन्य साधन प्रयोग गर्नुपर्दा ढुवानी खर्चसमेत बढी लाग्ने गरेको उनले बताए।
‘पहिले आलु उत्पादन गरेपछि कहाँ लगेर बेच्ने भन्ने चिन्ता हुन्थ्यो। बजारसम्म पुर्याउँदा ढुवानी खर्च धेरै लाग्थ्यो,’ राईले भने, ‘अहिले गाउँमै व्यापारी आएर आलु खरिद गर्ने भएकाले किसानलाई निकै सहज भएको छ।’
सडक सञ्जाल विस्तारसँगै भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादित कृषि उपजको बजारीकरणमा समेत सुधार हुँदै गएको छ। आलु, मकै, तरकारी र फलफूललगायतका उत्पादन बजारसम्म पुर्याउन सहज भएको किसानको भनाइ छ।
जिल्लाका विभिन्न ग्रामीण क्षेत्रमा उत्पादन भएको आलु स्थानीय बजारका साथै धरान र इटहरीलगायतका शहरी क्षेत्रमा पुग्ने गरेको छ। प्राङ्गारिक मल प्रयोग गरी उत्पादन गरिएको आलुको स्वाद र गुणस्तर राम्रो भएकाले बजारमा माग बढिरहेको किसानले बताएका छन्।
कृषि ज्ञान केन्द्र भोजपुरका अनुसार जिल्लामा करिब ३ हजार २७२ हेक्टर क्षेत्रफलमा आलु खेती हुँदै आएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्