काठमाडौं । जय नेपाल पार्टीका अध्यक्ष धवल शम्शेर राणाले आगामी स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीको मुख्य प्रतिस्पर्धा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग हुने बताएका छन्।
केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष राणाले पार्टीको सम्पूर्ण ध्यान अब स्थानीय तह निर्वाचनको तयारीमा केन्द्रित गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए।
‘हामीले मिहिनेत गरेर अघि बढ्नुपर्छ। हाम्रो मुख्य लक्ष्य आउँदो स्थानीय निर्वाचनमा घण्टीसँग प्रतिस्पर्धा गर्नु हो,’ राणाले भने, ‘राप्रपाको मतलब हामीलाई छैन, उनीहरू जे–जे गर्छन् गरून्, हामी उनीहरूको पछि लाग्दैनौँ।’
राणाले राप्रपाभित्रको आन्तरिक विवादप्रति पनि टिप्पणी गरे। ‘मोबाइल हेर्दा पनि हाँसो आउँछ, अहिले पनि उनीहरूको झगडा सकिएको छैन,’ उनले भने।
उनले हालै पार्टीका केही सांसदलाई निष्कासन गरिएको जानकारी दिँदै स्थानीय तह निर्वाचनलाई पार्टीको मुख्य राजनीतिक लक्ष्य बनाइएको बताए। निर्वाचनमा पार्टीको प्रभाव विस्तार गर्न सबै नेता तथा कार्यकर्तालाई सक्रिय रूपमा परिचालन गरिने उनको भनाइ छ।
स्थानीय निर्वाचनमा केन्द्रित
अध्यक्ष राणाले आगामी निर्वाचनका लागि पार्टीले आफ्नो रणनीति तयार गरिरहेको बताए। उनले केन्द्रीय कार्यसमिति बैठकबाट नेता तथा कार्यकर्तालाई चुनावी तयारीमा जुट्न निर्देशन दिँदै स्थानीय तहमा संगठन विस्तार र जनसम्पर्कलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्