काठमाडौं । नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्की नियुक्त भएका छन्। बुधबार भदौ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
उदयपुरका कार्कीलाई नागरिक लगानी कोष ऐन, २०४७ को दफा ४२ को उपदफा (१) बमोजिम नियुक्त गरिएको हो। नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट निवृत्त कार्की यसअघि पनि नागरिक लगानी कोषको कार्यकारी निर्देशकका रूपमा काम गरिसकेका छन्।
कार्की २०८० माघ ३ गते खुला प्रतिस्पर्धाबाट कोषको कार्यकारी निर्देशकमा छनोट भएका थिए। उनले नेपाल ग्रामीण विकास बैंक तथा किसान लघुवित्त वित्तीय संस्था लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारीसमेत सम्हालिसकेका छन्।
बैंकिङ क्षेत्रमा लामो अनुभव
कार्कीले अस्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालयबाट मास्टर अफ बैंकिङ एन्ड फाइनान्स (एमबीएफ) उपाधि हासिल गरेका छन्। उनले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन विषयमा स्नातकोत्तर अध्ययन पनि पूरा गरेका छन्।
कोषका सूचना अधिकारी उद्धवराज सिलवालका अनुसार कार्कीले केन्द्रीय बैंकिङ, वित्तीय स्थिरता तथा वित्तीय बजार विश्लेषणलगायत क्षेत्रमा अन्तर्राष्ट्रियस्तरका विभिन्न तालिम लिएका छन्।
नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था र नागरिक लगानी कोषमा लामो अनुभव हासिल गरेका कार्कीको नियुक्तिसँगै कोषको व्यवस्थापकीय नेतृत्वले नयाँ गति पाउने अपेक्षा गरिएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्