काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक पार्टी केन्द्रीय कार्यालय चःमतिमा सुरु भएको छ।
बैठकमा पार्टीको दस्तावेज तथा स्थानीय निर्वाचनका लागि ‘उम्मेदवार छनोट रूपरेखा २०८३’ अनुमोदन गर्ने विषयमा छलफल हुने भएको छ। त्यस्तै, ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माणका विषयमा पनि बैठकमा छलफल गर्ने तयारी छ।
बैठकमा केन्द्रीय समिति सदस्य, पदाधिकारी, सचिवालय सदस्य तथा विभागीय प्रमुख मनोनयन गर्ने एजेन्डा राखिएको छ। स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयन तथा पार्टीका योजना, कार्यक्रम र अभियानबारे पनि छलफल हुने महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिए।
त्यस्तै, पार्टीको मुखपत्रका रूपमा ‘स्वतन्त्र’ नामक मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने विषयमा पनि बैठकमा छलफल हुने भएको छ।
रास्वपाका वरिष्ठ नेता तथा प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह भने बैठकमा उपस्थित छैनन्। उनी आज मुस्ताङतर्फ प्रस्थान गरेका छन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्