बैतडी । बैतडीको सुर्नया गाउँपालिका–८ रातापानीका स्थानीय लगातारको पहिरोको त्रासमा छन्। गत साउन २६ गते गएको पहिरोले खेतीयोग्य जमिनमा क्षति पुर्याएपछि स्थानीय पानी पर्नासाथ घर छाडेर छिमेकीको घरमा बास बस्न बाध्य भएका छन्।
स्थानीय मीना बोहराका अनुसार पहिरो लगातार खसिरहेकाले घरसमेत जोखिममा परेको छ। ‘गत साउन २६ गते गएको पहिरोले खेतीयोग्य जमिनमा क्षति पुर्यायो नै। पहिरो लगातार गइरहेकाले घर पनि जोखिममा परेको छ,’ उनले भनिन्, ‘पानी पर्न सुरु हुनेबित्तिकै छिमेकीको घरमा बास खोज्न जानुपर्छ।’
भुवन बोहराको शौचालय र भान्साघरमा समेत पहिरोले क्षति पुर्याएको छ। ‘डराइ–डराइ बस्नुपरेको छ। पानी पर्न थालेपछि छिमेकीको घरमा बास खोज्न जानुपर्छ,’ उनले भने।
सात घर उच्च जोखिममा
गत साउन २६ गते गएको पहिरोका कारण रातापानी टोलका सात घर उच्च जोखिममा परेका छन्। रामसिंह बोहरा, धनुवा बोहरा, मीना बोहरा, गम्भीरसिंह बोहरा, उदयसिंह बोहरा, चक्र बोहरा र कृष्ण बोहराको परिवार जोखिममा रहेको स्थानीयले बताएका छन्।
स्थानीय लालबहादुर बोहराका अनुसार गाउँ नै पहिरोको त्रासमा छ। पानी परेको समयमा घर छाडेर छिमेकीको घरमा जानुपर्ने अवस्था रहेको उनले बताए।
उनका अनुसार विसं २०७८ देखि सो क्षेत्रमा पहिरो आउन थालेको हो। त्यसयता पहिरोको दीर्घकालीन रोकथामका लागि सम्बन्धित निकायसँग पटकपटक माग गरे पनि सुनुवाइ नभएको उनको गुनासो छ।
बस्ती स्थानान्तरणको माग
पहिरोको जोखिम कायमै रहेकाले स्थानीयले बस्ती नै सुरक्षित स्थानमा सार्न माग गरेका छन्।
स्थानीय कृष्ण बोहराले घरमाथिको जमिन चर्किएको, खानेपानीको समस्या रहेको तथा बालबालिकालाई विद्यालय जानसमेत कठिनाइ भएको बताए।
‘दीर्घकालीन समस्याको समाधानका लागि बस्ती नै सार्न सके राम्रो हुन्थ्यो,’ उनले भने।
गम्भीर बोहराका अनुसार पहिरोले उनको करिब १५ रोपनीभन्दा बढी खेतीयोग्य जमिनमा क्षति पुर्याएको छ। मकै लगाएको जमिन पहिरोले बगाएपछि बाँकी जमिनसमेत चर्किएको उनले बताए।
सुर्नया गाउँपालिका–८ का वडाध्यक्ष भानबहादुर बोहराका अनुसार सो क्षेत्रमा ४० रोपनीभन्दा बढी मकैबाली लगाइएको खेतीयोग्य जमिन पहिरोबाट प्रभावित भएको छ।
प्रजिअ नेतृत्वको टोलीद्वारा स्थलगत निरीक्षण
शुक्रबार बैतडीका प्रमुख जिल्ला अधिकारी मीना अर्यालको नेतृत्वमा पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरिएको छ।
निरीक्षणका क्रममा प्रजिअ अर्यालले प्रभावित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने अवस्था देखिएको बताइन्। बस्ती स्थानान्तरणका लागि टेन्ट, त्रिपाललगायत आवश्यक सामग्रीको व्यवस्थापन गर्न सरोकारवाला निकायसँग समन्वय भइरहेको उनले जानकारी दिइन्।
‘पहिरो प्रभावित क्षेत्रमा अवरुद्ध विद्युत् सेवा सुचारु भइसकेकाले खानेपानीको समस्या समाधानका लागि निर्देशन दिएका छौँ,’ प्रजिअ अर्यालले भनिन्।
पहिरोले बाटोसमेत बगाएपछि विद्यार्थीलाई विद्यालय पुग्न कठिन भएको छ। सामान्य अवस्थामा आधा घण्टामा पुगिने विद्यालय पुग्न अहिले करिब डेढ घण्टा लाग्ने अवस्था रहेको स्थानीयले बताएका छन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्