काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको विवाद अदालतको ढोकामा पुग्नुअघि पार्टी कार्यालयमै बसेर संवादमार्फत समाधान गर्नुपर्ने बताएका छन्।
शनिबार कांग्रेसले आयोजना गरेको ‘ग्रिन रन’ कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै शर्माले कांग्रेस नयाँ सोच, दृष्टिकोण र ऊर्जासहित अघि बढिरहेको भन्दै सबै नेताहरूलाई संवादमार्फत पार्टीलाई एकताबद्ध बनाउन आग्रह गरे।
“मुद्दा मामिलाको बाटो संविधान र कानुनले दिन्छ। त्यसमा जाँदै गर्दा हामी नकारात्मक टिप्पणी गर्दैनौँ। तर अदालतको ढोकाबाट होइन, पार्टी कार्यालयको कोठामा सँगसँगै बसेर संवाद गरेर पार्टीलाई एकताबद्ध बनाएर लैजानुछ,” उनले भने।
शर्माले विशेष महाधिवेशनबाट आएको नेतृत्व पाँच वर्षका लागि निरन्तर रहने नभएको स्पष्ट पारे। आगामी असोजमा महाधिवेशन हुने भएकाले पार्टीको नेतृत्वमा प्रतिस्पर्धा गर्न सबैका लागि अवसर खुला रहेको उनको भनाइ छ।
“यो विशेष महाधिवेशनपछि पाँच वर्षका लागि आएको नेतृत्व होइन। असोजमा महाधिवेशन हुँदै छ। को सभापति बन्न चाहनुहुन्छ, को उपसभापति, महामन्त्री बन्न चाहनुहुन्छ, सबैका लागि ढोका खुला छ,” शर्माले भने।
उनले कांग्रेसभित्र देखिएको विवादलाई संवाद र सहमतिबाट समाधान गर्दै पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउनुपर्नेमा जोड दिए।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्