झापा । पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्ब रुपैयाँभन्दा बढी मूल्यका कृषिजन्य वस्तु नेपाल भित्रिएका छन्। खाद्यान्न, दलहन, ताजा तरकारी तथा फलफूलको आयात उच्च रहेको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाले जनाएको छ।
कार्यालयका प्रमुख नन्दकिशोर सिंहका अनुसार आर्थिक वर्ष २०८२/८३ मा भारत, चीन, अष्ट्रेलिया र बंगलादेशबाट गरी २४ अर्ब २६ करोड ७४ लाख रुपैयाँ बराबरका कृषिजन्य वस्तु आयात भएका हुन्।
आयातीत कृषिजन्य वस्तुमध्ये खाद्यान्न र दलहनको हिस्सा सबैभन्दा ठूलो रहेको कार्यालयको तथ्यांकले देखाएको छ।
चामल, कोदो र दलहनको ठूलो आयात
गत आर्थिक वर्षमा भारतबाट २४ करोड २३ लाख १३ हजार रुपैयाँ बराबरको चामल आयात भएको छ। यस्तै, १८ करोड ८३ लाख रुपैयाँ बराबरको कोदो समेत आयात गरिएको कार्यालयले जनाएको छ।
दलहनतर्फ अष्ट्रेलिया र भारतबाट एक हजार ९९६ मेट्रिकटन चना आयात गरिएको छ। उक्त परिमाणको मूल्य १८ करोड २७ लाख ९९ हजार रुपैयाँरहेको छ।
त्यसैगरी, अष्ट्रेलियाबाट ७९६ मेट्रिकटन मासको दाल आयात भएको छ, जसको मूल्य १० करोड ८८ लाख ५४ हजार रुपैयाँ बराबर रहेको तथ्यांकमा उल्लेख छ।
तरकारीमा पनि भारतमै निर्भरता
ताजा तरकारीतर्फ पनि भारतबाट ठूलो परिमाणमा विभिन्न कृषि उपज भित्रिएको छ। विशेषगरी गोलभेडा, काँक्रा, भेडे खुर्सानी तथा फर्सीजस्ता तरकारीको आयात उल्लेख्य रहेको छ।
एक वर्षको अवधिमा १४ करोड ३९ लाख ६६ हजार रुपैयाँ बराबरको गोलभेडा आयात भएको छ। यस्तै, सात करोड ९० लाख ६४ हजार रुपैयाँ बराबरको काँक्रा र तीन करोड २४ लाख ३५ हजार रुपैयाँ बराबरको खुर्सानी आयात भएको कार्यालयको तथ्यांकले देखाएको छ।
स्याउ र तरबुजाको आयात पनि उच्च
फलफूलतर्फ भारत र चीनबाट स्याउ, भुइँकटर, तरबुजा र नासपाती मुख्य रूपमा नेपाल भित्रिएका छन्।
गत आर्थिक वर्षमा भारत र चीनबाट गरी २९ करोड ५९ लाख ७२ हजार रुपैयाँ बराबरको स्याउ आयात भएको छ। भारतबाट मात्रै १४ करोड २४ लाख ८१ हजार रुपैयाँ बराबरको तरबुजा आयात भएको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाले जनाएको छ।
पूर्वी नाका हुँदै ठूलो मात्रामा कृषिजन्य वस्तु आयात भइरहेका बेला नेपालमा उत्पादन सम्भावना रहेका तरकारी, फलफूल र खाद्यान्नसमेत विदेशबाट आयात हुनुले कृषि उत्पादन वृद्धि, बजार व्यवस्थापन र व्यावसायिक कृषिको विस्तारमा थप ध्यान दिनुपर्ने आवश्यकता देखाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्