काठमाडौं । देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि विभागले जनाएको छ। विभागका अनुसार गत वर्षको तुलनामा यस वर्ष धान रोपाइँ १.९२ प्रतिशतले बढी भएको हो।
विभागको तथ्याङ्कअनुसार शुक्रबारसम्म देशभर १३ लाख ४१ हजार ७६४ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ। देशभर धान खेतीका लागि करिब १३ लाख ७० हजार हेक्टर जमिन योग्य रहेको विभागले जनाएको छ।
प्रदेशगत रूपमा सुदूरपश्चिममा सबैभन्दा बढी १०० प्रतिशत रोपाइँ सम्पन्न भएको छ। कर्णालीमा ९८.५ प्रतिशत, लुम्बिनीमा ९७.८७ प्रतिशत, गण्डकीमा ९६.६८ प्रतिशत, बागमतीमा ९७.८२ प्रतिशत, मधेसमा ९८.१० प्रतिशत र कोशी प्रदेशमा ९७ प्रतिशत रोपाइँ सकिएको छ।
कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले विशेषगरी मधेस प्रदेशलगायतका क्षेत्रमा पर्याप्त वर्षा नहुँदा यस वर्ष रोपाइँ केही ढिला भएको बताए। पछिल्लो समय वर्षा बढेसँगै रोपाइँको गति पनि बढेको उनको भनाइ छ।
अधिकांश क्षेत्रमा धान रोपाइँका लागि आकाशे पानीमै निर्भर हुनुपर्ने अवस्था रहे पनि यस वर्ष मनसुन अनुकूल रहेकाले गत वर्षको तुलनामा रोपाइँको अवस्था राम्रो रहेको सञ्जेलले बताए।
धान उत्पादन बढ्ने अपेक्षा
महानिर्देशक सञ्जेलले मनसुन समयमै सक्रिय भएर अनुकूल रहिरहे धान उत्पादनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको बताए।
गत वर्षको तुलनामा यस वर्ष धान रोपाइँको क्षेत्रफल र अवस्था दुवै राम्रो रहेकाले समग्र कृषि उत्पादनमा समेत वृद्धि हुने विभागको अपेक्षा छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्