ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

म्याग्दी :  एक वर्षमा ७३ करोडको आलु र सुन्तला बिक्री


ABC NEWS
६ भदौ २०८३, शनिबार   ५ : ५५   बजे

म्याग्दी । हिमाली र पहाडी भूगोलका कारण परम्परागत कृषि क्षेत्रका रूपमा परिचित म्याग्दी अहिले व्यावसायिक आलु र सुन्तला उत्पादनको महत्वपूर्ण केन्द्र बन्दै गएको छ। एक वर्षको अवधिमा मात्रै म्याग्दीबाट ७३ करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको आलु र सुन्तला बिक्री भएको तथ्याङ्कले जिल्लाको कृषि अर्थतन्त्रमा यी दुई बालीको बढ्दो महत्व देखाएको छ।

कृषि विकास कार्यालय म्याग्दीका अनुसार आर्थिक वर्ष २०८२/८३ मा जिल्लाबाट करिब ४० करोड रुपैयाँ बराबरको आलु र ३३ करोड ८६ लाख रुपैयाँ बराबरको सुन्तला बिक्री भएको छ।

यो अवधिमा म्याग्दीबाट ३३ हजार १२० मेट्रिक टन आलु र चार हजार ५१५ मेट्रिक टन सुन्तला व्यापारका लागि जिल्लाबाहिर पठाइएको कृषि विकास कार्यालयका प्रमुख तथा वरिष्ठ कृषि विकास अधिकृत सञ्जीव बास्तोला ले जानकारी दिए।

म्याग्दीमा उत्पादन भएको आलु र सुन्तलाको प्रमुख बजार बेनी हुँदै पोखरा, काठमाडौँ र चितवनसम्म फैलिएको छ। पछिल्ला वर्षमा ग्रामीण सडकको पहुँच विस्तार भएपछि गाउँका खेतबारी र बगैँचाबाट उत्पादन भएका कृषि उपज बजारसम्म पुर्‍याउन सहज भएको छ।

४३० हेक्टरमा सुन्तला, १ हजार ८४० हेक्टरमा आलु

कृषि विकास कार्यालयका अनुसार गत आर्थिक वर्ष म्याग्दीमा ४३० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती र एक हजार ८४० हेक्टर क्षेत्रफलमा आलुखेतीगरिएको थियो।

प्रतिहेक्टर सुन्तलाको औसत उत्पादन १०.५ मेट्रिक टन र आलुको १८ मेट्रिक टन रहेको जनाइएको छ।

बजार मूल्यका हिसाबले सुन्तला औसतमा प्रतिकिलो ७५ रुपैयाँ र आलु प्रतिकिलो ३० रुपैयाँ का दरले बिक्री भएको कार्यालयले जनाएको छ।

उत्पादनको परिमाण र बजार मूल्यलाई हेर्दा म्याग्दीमा आलु र सुन्तला केवल घरायसी उपभोगका बाली मात्र नभई ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउने महत्वपूर्ण व्यावसायिक उत्पादनका रूपमा स्थापित हुँदै गएका छन्।

विशेषगरी पहाडी गाउँका किसानका लागि यी बाली नगद आम्दानीको प्रमुख स्रोत बनेका छन्।

असिनाले आलुमा २० करोडको क्षति

तर गत आर्थिक वर्ष म्याग्दीका किसानका लागि सबै कुरा अनुकूल भने रहेन। वैशाख र जेठ महिनामा परेको असिनाले आलुखेतीमा ठूलो असर पुर्‍याएको कृषि विकास कार्यालयले जनाएको छ।

कार्यालय प्रमुख बास्तोलाका अनुसार असिनाका कारण करिब २० करोड रुपैयाँ बराबरको आलु उत्पादनमा कमी आएको अनुमान गरिएको छ।

सुन्तला उत्पादनमा भने अघिल्लो वर्षको तुलनामा उल्लेख्य परिवर्तन देखिएको छैन।

असिना, अनियमित वर्षा र अन्य मौसमी जोखिमले कृषि उत्पादनमा कस्तो प्रभाव पार्न सक्छ भन्ने उदाहरणका रूपमा गत वर्षको आलु उत्पादनलाई हेरिएको छ। किसानले बीउ, मल, श्रम र अन्य लागत लगाइसकेपछि प्राकृतिक विपत्तिका कारण उत्पादनमा कमी आउँदा त्यसको प्रत्यक्ष असर ग्रामीण आम्दानीमा पर्छ।

यसले व्यावसायिक कृषिलाई विस्तार गर्दै जाँदा मौसमजन्य जोखिम न्यूनीकरण, कृषि बीमा र सुरक्षित उत्पादन प्रणालीलाई पनि सँगसँगै प्राथमिकता दिनुपर्ने आवश्यकता देखाएको छ।

अघिल्लो वर्षभन्दा उत्पादनको तुलना

आर्थिक वर्ष २०८०/८१ मा म्याग्दीमा एक हजार ७५० हेक्टर क्षेत्रफलमा ३१ हजार ४५० मेट्रिक टन आलु उत्पादन भएको थियो।

त्यसैगरी, सो वर्ष करिब २४ करोड रुपैयाँ बराबरको तीन हजार ६०० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो।

कृषि प्राविधिकहरूले फलफूल, तरकारी र खाद्यान्न बालीको उत्पादनसम्बन्धी तथ्याङ्क सङ्कलनका लागि ‘क्रपकटिङ’ विधिको प्रयोग गर्दै आएका छन्।

यस विधिबाट खेत तथा बगैँचाको प्रतिनिधिमूलक क्षेत्र छनोट गरी उत्पादनको अनुमान लगाइन्छ।

नयाँ तथ्याङ्कले म्याग्दीमा आलुखेतीको क्षेत्रफल र बजारसँगको सम्बन्ध विस्तार हुँदै गएको देखाए पनि मौसमजन्य क्षतिले उत्पादनमा चुनौती थपेको छ।

म्याग्दीका गाउँ–गाउँमा फैलिएको आलुखेती

म्याग्दीको भौगोलिक विविधताले विभिन्न उचाइ र हावापानीमा आलुखेतीको सम्भावना बढाएको छ।

अन्नपूर्ण गाउँपालिकाका शिख, खिबाङ, राम्चे, काफलडाँडा, नाङ्गी, हिस्तान र पाउद्वार लगायतका क्षेत्र आलु उत्पादनका प्रमुख पकेट क्षेत्र मानिन्छन्।

त्यसैगरी रघुगङ्गा गाउँपालिकाका कुइनेमङ्गले, दर्मिजा, चिमखोला र ठाडाखानी मा पनि व्यावसायिक रूपमा आलु उत्पादन हुँदै आएको छ।

बेनी नगरपालिकाको भकिम्ली लगायतका क्षेत्रमा समेत आलुखेती किसानको आम्दानीको महत्वपूर्ण आधार बनेको छ।

उच्च पहाडी क्षेत्रको हावापानी र माटो आलु उत्पादनका लागि अनुकूल भएकाले म्याग्दीको आलुले स्थानीय बजारदेखि बाहिरी बजारसम्म स्थान बनाउँदै गएको छ।

दुई सयभन्दा बढी सुन्तला बगैँचा

म्याग्दीमा सुन्तलाखेती पनि तीव्र रूपमा विस्तार भइरहेको छ। जिल्लाका विभिन्न स्थानमा दुई सयभन्दा बढी सुन्तला बगैँचा रहेको कृषि विकास कार्यालयले जनाएको छ।

राखु, मरेक, सुर्केमेला, बरङ्जा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले र घारलगायत क्षेत्र सुन्तला उत्पादनका प्रमुख क्षेत्र हुन्।

त्यसैगरी भुरुङ तातोपानी, दाना र नारच्याङ लगायतका स्थानमा पनि व्यावसायिक सुन्तलाखेती हुँदै आएको छ।

पहाडी भेगमा उत्पादन हुने म्याग्दीको सुन्तला स्वाद र गुणस्तरका कारण बजारमा माग रहेको किसान तथा कृषि प्राविधिकहरूको भनाइ छ।

सडक सञ्जाल गाउँसम्म पुगेपछि किसानले उत्पादन बजारसम्म पुर्‍याउन सहज भएको छ। यसअघि यातायात अभावका कारण स्थानीय उत्पादनले उचित बजार नपाउने र ढुवानीकै क्रममा क्षति हुने समस्या थियो।

अनुदानमार्फत खायन आलु प्रवर्द्धन

म्याग्दीमा आलु र सुन्तलाखेतीको विस्तारका लागि संघ, प्रदेश र स्थानीय तहले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन्।

कृषि विकास कार्यालयले गत आर्थिक वर्ष खायन आलु प्रवर्द्धन कार्यक्रम अन्तर्गत ८०० घरपरिवारलाई सहयोग उपलब्ध गराएको थियो।

उक्त कार्यक्रममार्फत ७०० रोपनी क्षेत्रफलमा आलुखेती गर्न किसानलाई कुल ३९ लाख ७० हजार रुपैयाँ अनुदान दिइएको थियो।

अनुदान सहयोगबाट विस्तार गरिएको क्षेत्रमा मात्रै एक हजार ६६५ मेट्रिक टन आलु उत्पादन भएको कार्यालयले जनाएको छ।

यसले साना तथा मध्यम किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्न अनुदान र प्राविधिक सहयोगले महत्वपूर्ण भूमिका खेल्न सक्ने देखाएको छ।

सुन्तला बगैँचामा मल, सिँचाइ र यान्त्रिकीकरण

सुन्तलाजात फलफूल बगैँचा सुदृढीकरण कार्यक्रमअन्तर्गत पनि किसानलाई सहयोग उपलब्ध गराइएको छ।

कृषि विकास कार्यालयले १९ लाख २९ हजार रुपैयाँ सहयोग उपलब्ध गराएपछि ३२ वटा कृषि फार्मले ५९९ रोपनी क्षेत्रफलमा फैलिएको सुन्तला बगैँचा सुदृढीकरण गरेका छन्।

कार्यक्रमअन्तर्गत किसानलाई मलखाद, सिँचाइ सुविधा, कृषि औजार तथा यान्त्रिकीकरणमा सहयोग उपलब्ध गराइएको थियो।

सुन्तला बगैँचाको विस्तारसँगै पुराना बगैँचाको व्यवस्थापन र उत्पादकत्व बढाउने कामलाई पनि प्राथमिकता दिइएको छ।

कार्यालयका बाली संरक्षण अधिकृत प्रकाश पुन का अनुसार आगामी आर्थिक वर्ष फलफूल बगैँचा सुदृढीकरण तथा विस्तार कार्यक्रमका लागि ४२ लाख रुपैयाँ र खायन आलु प्रवर्द्धन कार्यक्रमका लागि ३३ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।

कृषिमा ६ करोड ७८ लाखभन्दा बढी खर्च

गत आर्थिक वर्ष म्याग्दीमा कृषि क्षेत्रको विकासका लागि संघ, प्रदेश र स्थानीय तहले संयुक्त रूपमा नौ करोड ३९ लाख ८३ हजार रुपैयाँ बजेट विनियोजन गरेका थिए।

त्यसमध्ये ७२.८३ प्रतिशत अर्थात् छ करोड ७८ लाख ६७ हजार रुपैयाँ खर्च भएको जनाइएको छ।

आलु र सुन्तलाखेती विस्तार, बगैँचा सुदृढीकरण, उत्पादन वृद्धि, कृषि सामग्री तथा प्राविधिक सहयोगका विभिन्न कार्यक्रम सञ्चालनमा उक्त बजेट खर्च गरिएको हो।

उत्पादनदेखि बजारसम्मको चुनौती

म्याग्दीको कृषि क्षेत्रमा आलु र सुन्तलाको बढ्दो व्यावसायिक महत्वले एउटा सम्भावना देखाएको छ—सही बजार, सडक पहुँच, प्राविधिक सहयोग र लगानी भए पहाडी जिल्लाको कृषि उत्पादन ग्रामीण अर्थतन्त्रको बलियो आधार बन्न सक्छ।

तर असिनाका कारण आलु उत्पादनमा आएको ठूलो गिरावटले कृषि अझै प्राकृतिक जोखिमको सामना गरिरहेको यथार्थ पनि उजागर गरेको छ।

उत्पादन बढाउनु मात्र पर्याप्त छैन। किसानले उचित मूल्य पाउने व्यवस्था, भण्डारण सुविधा, प्रशोधन उद्योग, कृषि बीमा र बजारको स्थिरता पनि उत्तिकै आवश्यक छ।

आज म्याग्दीबाट ७३ करोड रुपैयाँभन्दा बढी मूल्यको आलु र सुन्तला बाहिरी बजारमा पुग्नु जिल्लाको कृषि सम्भावनाको संकेत हो। तर यही सम्भावनालाई दीर्घकालीन आर्थिक शक्तिमा बदल्न उत्पादन बढाउने कार्यक्रमसँगै किसानको आम्दानी, जोखिम न्यूनीकरण र बजार व्यवस्थापनमा पनि उत्तिकै ध्यान दिनुपर्ने देखिन्छ।

पहाडी खेतका आलु र बगैँचाका सुन्तलाले अब म्याग्दीको स्थानीय पहिचान मात्र होइन, जिल्लाको कृषि अर्थतन्त्रलाई नयाँ दिशा दिने सम्भावना बोकेका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

वर्षासँगै आज पनि २८ जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीको बहावसमेत बढ्ने

जनकपुरधाममा गुठीको अतिक्रमित जग्गा खाली गर्न डोजर चलाइयो

सम्बन्धित

कालीमाटीमा तरकारीको मूल्यमा उतारचढाव, प्याज र च्याउ महँगिए

किसानको मल वीरगन्ज पठाएर कालोबजारी गरेको आरोपमा तीन पक्राउ

देशभर ९८ प्रतिशत धान रोपाइँ सम्पन्न, गत वर्षभन्दा १.९२ प्रतिशत बढी

गाँजा खेतीबारे सरकार सकारात्मक, कानुनी व्यवस्था गर्न अर्थमन्त्री वाग्लेको पहल

‘सुपर एल निनो’को जोखिमसँग जुध्न पूर्वतयारी आवश्यक : मन्त्री श्रेष्ठ

मलको खोजीमा ७० किलोमिटर साइकल यात्रा : बर्दियाका किसान महँगो भारतीय युरियाको भरमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu