बागलुङ । किसानका लागि सरकारले अनुदानमा उपलब्ध गराएको रासायनिक मल जिल्लाबाहिर पठाएर कालोबजारी गरेको आरोपमा बागलुङमा तीन जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार किसानलाई तोकिएको कोटाअनुसार जिल्लाभित्रै बिक्री वितरण गर्नुपर्ने युरिया मल रात्रिबसमार्फत वीरगन्ज पठाइएको खुलेपछि प्रहरीले संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको हो।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार बागलुङ बजारमा रहेका दुई वटा कृषि सामग्री पसलबाट खरिद गरिएको युरिया मल रातिको बसमार्फत वीरगन्ज पठाइएको थियो। किसानका लागि अनुदानमा उपलब्ध गराइएको मल अन्यत्र पठाएर बढी मूल्यमा बिक्री गर्ने उद्देश्यले कालोबजारी गरिएको आशंकामा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
यस घटनामा पर्साको छिपहरमाई गाउँपालिका–६ का दिनेश पण्डितकुमार तथा बागलुङ नगरपालिका–२ का कुलबहादुर रानामगर र विनय शाक्यपक्राउ परेका छन्।
सरकारले किसानलाई सहुलियत दरमा उपलब्ध गराउने रासायनिक मलको आपूर्ति र वितरण प्रणाली लामो समयदेखि चुनौतीपूर्ण रहँदै आएको छ। खेतीपातीको मुख्य समयमा मल अभाव हुने गुनासो किसानहरूले गर्दै आएका बेला अनुदानमा उपलब्ध मल नै जिल्लाबाहिर पठाएर कालोबजारी गरिएको आरोप लाग्नुले वितरण प्रणालीमाथि समेत प्रश्न उठाएको छ।
पक्राउ परेका तीनै जनामाथि कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन अन्तर्गत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीले घटनामा अन्य व्यक्ति वा कृषि सामग्री पसलको समेत संलग्नता छ कि छैन भन्ने विषयमा अनुसन्धान जारी रहेको जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्