काठमाडौं । नेपाल र भारतका चार जिल्लाका सुरक्षा अधिकारीले सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन संयुक्त गस्तीको क्षेत्र विस्तार गर्ने तथा सीमा अपराधसम्बन्धी सूचना नियमित रूपमा आदानप्रदान गर्ने सहमति गरेका छन्।
महोत्तरी सदरमुकाम जलेश्वरमा शनिबार सम्पन्न नेपाल–भारत सुरक्षा अधिकारीको समन्वयात्मक बैठकमा हातहतियार तथा लागुऔषध ओसारपसार, मानव तस्करीलगायत सीमा अपराध नियन्त्रण र रोकथामका विषयमा छलफल भएको महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी सञ्जयकुमार पोखरेलले जानकारी दिए।
बैठकमा सीमा स्तम्भको सुरक्षा तथा मर्मतसम्भारका विषयमा समेत छलफल भएको थियो। दुवै देशका सुरक्षाकर्मीले गर्दै आएको संयुक्त गस्तीलाई थप क्षेत्रमा विस्तार गर्ने र सीमा क्षेत्रमा हुने आपराधिक गतिविधिबारे सूचना एकअर्कासँग नियमित रूपमा साझा गर्ने सहमति भएको पोखरेलले बताए।
बैठक पारस्परिक समन्वय र सहकार्यमा केन्द्रित रहेको उनको भनाइ छ।
बैठकमा महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, सर्लाहीका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी, रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर, सीतामढीका जिल्ला मजिस्ट्रेट तनय सुलतानिया तथा सीतामढीका प्रहरी उपरीक्षक अमित रञ्जनसहित दुवै देशका सुरक्षा अधिकारी सहभागी थिए।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्