काठमाडौं । अभिनेत्री सुहाना थापाले आगामी चलचित्र **‘बाः एक योद्धा’**लाई फरक स्वाद र भावनात्मक कथावस्तु बोकेको चलचित्रका रूपमा वर्णन गरेकी छन्। भदौ १९ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र हेर्न दर्शकलाई आग्रह गर्दै उनले यसले बुबाआमाले सन्तानका लागि गर्ने त्याग र संघर्षलाई नजिकबाट प्रस्तुत गरेको बताइन्।
सुहानाका अनुसार, हरेक सन्तानलाई आफ्ना बुबाआमाले गरेका त्याग र संघर्षबारे जानकारी हुन्छ, तर ती भावना उनीहरूकै अगाडि खुलेर व्यक्त गर्न भने धेरैलाई सहज हुँदैन।
‘हामी सबैलाई हाम्रा बाबा–आमाले हाम्रो लागि गर्नुभएको त्याग याद हुन्छ। तर, हामी त्यसलाई उहाँहरूकै अगाडि खुलेर भन्न सक्दैनौँ,’ उनले भनिन्, ‘यो चलचित्रमा मेरो पात्रमार्फत मेरो लागि मेरो बुबाले कति ठूलो त्याग गर्नुभएको छ भन्ने कुरा प्रस्तुत गरिएको छ।’
उनले चलचित्रको कथा धेरै दर्शकले आफ्नै जीवन र परिवारसँग जोडेर महसुस गर्ने विश्वास व्यक्त गरिन्। **‘बाः एक योद्धा’**ले नेपाली समाजमा सन्तानको भविष्य निर्माणका लागि एक बुबाले गर्ने संघर्ष, त्याग र जीवनभर सामना गर्ने चुनौतीलाई मुख्य विषय बनाएको छ।
चलचित्रमा सुहाना थापासँगै दिव्यदेव पन्त, झरना थापा र माओत्से गुरुङलगायत कलाकारको अभिनय रहेको छ। चलचित्रको लेखन तथा निर्देशन हरि लम्सालले गरेका हुन्।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्