काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज साँझ ६ बजे जारी गरेको बुलेटिन अनुसार देशभर साधारणतया बादल लागेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा, कोसी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा मधेस प्रदेशका एक-दुई स्थानमा मध्यमसम्म वर्षा भइरहेको छ।
मौसमको पूर्वानुमान
मौसम महाशाखाका अनुसार आज राति कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ।
यसैगरी कोसी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ। मधेस प्रदेश तथा कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थान र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक-दुई स्थानमा पनि आज राति मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ।
मौसम महाशाखाले बुलेटिनमा कोसी, बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा राति भारी वर्षाको पनि सम्भावना रहेको उल्लेख गरेको छ।
वर्षाको वर्गीकरण
मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्यो भने हल्का वर्षा, १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कम पानी पर्यो भने मध्यम वर्षा हुन्छ। त्यस्तै, ५० मिलिमिटरभन्दा धेरै तर १०० मिलिमिटरभन्दा कम वर्षा भएमा भारी वर्षा भएको मानिन्छ।
यसैगरी २४ घण्टामा १०० मिलिमिटरभन्दा धेरै तर २०० मिलिमिटरभन्दा कम पानी परेमा धेरै भारी र २०० मिलिमिटरभन्दा धेरै वर्षा भएमा अति भारी वर्षा भएको भनिन्छ।
वर्षा हुने स्थानको परिभाषा
मौसमविद्का अनुसार एक-दुई स्थानमा वर्षा हुने सम्भावना भन्नाले १० प्रतिशतभन्दा कम भूभागमा पानी पर्छ भनेर बुझिन्छ।
त्यसैगरी, १० देखि ३० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘थोरै स्थान’मा वर्षा हुन्छ। ३० देखि ५० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘केही स्थान’मा र ५० देखि ८० प्रतिशत भूभागमा वर्षा हुने सम्भावना हुँदा ‘धेरै स्थान’मा वर्षाको सम्भावना छ। ८० प्रतिशतभन्दा बढी भूभागमा पानी पर्ने सम्भावना हुँदा मौसमविद्ले ‘अधिकांश स्थान’मा वर्षा हुने सम्भावना रहेको बताउँछन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्