लमजुङ । नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष तथा पूर्व सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले बदलिँदो राजनीतिक परिस्थितिअनुसार पार्टीको नीति, विचार, कार्यशैली र संगठनको पुनर्गठन गर्नुपर्ने बेला आएको बताउनुभएको छ।
नेकपा (एमाले) जिल्ला कमिटी लमजुङको आइतबार आयोजित १३ औँ बैठकलाई सम्बोधन गर्दै गुरुङले पार्टीलाई थप सुदृढ र प्रभावकारी बनाउन नीति, विचार, कार्यशैली तथा संगठनमा पुनर्गठन आवश्यक रहेको बताउनुभयो । उहाँले पार्टी संगठनलाई जनतासँग जोड्दै कार्यकर्तालाई थप सक्रिय र जिम्मेवार बनाउनुपर्नेमा जोड दिनुभयो।
एमाले केन्द्रीय कमिटी सचिव खगराज अधिकारीले जनताले चाहेअनुसारको पार्टी निर्माण गर्नुपर्ने बताउनुभएको छ । पार्टीभित्र भएका गल्ती–कमजोरीलाई स्वीकार गर्दै त्यसबाट पाठ सिकेर अघि बढ्नुको विकल्प नभएको उहाँले बताउनुभयो। विगतका कमजोरीको समीक्षा गर्दै पार्टीलाई जनमुखी, सुदृढ र प्रभावकारी बनाउन सबै तहका नेता–कार्यकर्ता जिम्मेवार भएर अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो।
कार्यक्रममा बोल्ने अन्य नेताहरू
एमाले केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज जमिन्द्रमान घले र गण्डकी प्रदेश कमिटी सचिव धनञ्जय दवाडीले पनि पार्टी संगठनलाई थप सुदृढ, व्यवस्थित र जनमुखी बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँहरूले पार्टीका नीति तथा कार्यक्रमलाई जनस्तरसम्म प्रभावकारी रूपमा पुर्याउँदै संगठनलाई चलायमान बनाउनुपर्ने बताउनुभयो।
जिल्ला कमिटीको प्रतिवेदन
जिल्ला कमिटी अध्यक्ष राजकुमार विष्टले गत आर्थिक वर्षमा सम्पादन गरिएका कार्यक्रम तथा गतिविधिको विवरण प्रस्तुत गर्दै चालु आर्थिक वर्षमा सञ्चालन गरिने योजना तथा कार्यक्रमबारे जानकारी गराएको जिल्ला कमिटी सचिव राजेन्द्र बोहोराले जानकारी दिनुभयो। बोहोराका अनुसार बैठकमा पार्टी संगठनको सुदृढीकरण, कार्यकर्ता परिचालन र आगामी कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने योजनाबारे जानकारी गराइएको थियो।
मदन–आश्रित स्मृति भवनमा आयोजित बैठकमा जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको र ‘मिसन पार्टी जागरण अभियान–२०८३’ सम्बन्धी अभिमुखीकरणसमेत गरिएको उपसचिव विवस बुढाथोकीले जानकारी दिनुभयो ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्