पर्वत । पर्वतको फलेवास नगरपालिका–१०, कुर्घामा अटोरिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
महाशिला गाउँपालिकाको लुङ्खुदेउरालीबाट बिहादी गाउँपालिका–१, बाच्छातर्फ जाँदै गरेको ध १ ह ६१ नम्बरको अटोरिक्सा कुर्घास्थित सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको हो।
दुर्घटनामा अटोमा सवार बिहादी गाउँपालिका–१, बाच्छा देउरालीका ४९ वर्षीय प्रेमबहादुर विक गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि प्रदेश अस्पताल कुश्मा पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।
दुर्घटनामा बिहादी गाउँपालिका–१ की २४ वर्षीया कविता विक, १५ वर्षीया अञ्जुली विक र १३ वर्षीया दुर्गा विक घाइते भएका छन्। कविता विकको दाहिने खुट्टामा चोट लागेको छ भने अञ्जुलीको दाहिने खुट्टा र दुर्गाको टाउकोमा भित्री चोट लागेको प्रहरीले जनाएको छ।
यस्तै, अटोरिक्सा चालक फलेवास नगरपालिका–११, पङराङका ३६ वर्षीय मनबहादुर परियार पनि घाइते भएका छन्। उनको बायाँ ढाड र कुममा चोट लागेको बताइएको छ।
घाइते सबैको प्रदेश अस्पताल कुश्मामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजनकुमार पटेलले जानकारी दिए।
ब्रेक नलाग्दा दुर्घटना भएको प्रारम्भिक अनुमान
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट ओरालो सडकमा अटोरिक्साको ब्रेक नलागेपछि चालकले सवारी नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको देखिएको छ।
अटो सडकबाट करिब १० मिटर तल खसेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्