रामेछाप । काठमाडौँबाट चारवटा मोटरसाइकलमा आएको समूहले एक युवकलाई कुटपिट गरी गम्भीर घाइते बनाएपछि प्रहरीले आठ जनालाई पक्राउ गरेको छ।
मन्थली नगरपालिका–९ स्कुलडाँडामा आइतबार जीवन विकमाथि कुटपिट भएको थियो। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले रामेछाप र सिन्धुलीका आठ जनालाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कमल राउतका अनुसार पक्राउ पर्नेमा रामेछापको खाँडादेवी गाउँपालिका–३ आँपचौरका २५ वर्षीय गोपाल विक, खाँडादेवी–२ का २० वर्षीय दीपेन्द्र लोहार, खाँडादेवी–१ का ३६ वर्षीय नारायण लोहार, मन्थली नगरपालिका–७ का ३२ वर्षीय करण विक र सोही ठाउँकी २५ वर्षीया विपना खाती छन्।
यस्तै, सिन्धुलीको सुनकोसी गाउँपालिका–४ डाँगीका २४ वर्षीय रमन विक, ३० वर्षीय रमेश विक र २० वर्षीय चतुरलाल विकलाई पनि प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा मन्थली–७ कल्लेरीका करण विकले पुरानो रिसइबीका कारण जीवन विकमाथि कुटपिट गर्ने योजना बनाएको खुलेको छ। सोही योजनाअनुसार उनले साथीहरूलाई काठमाडौँबाट रामेछाप ल्याएको प्रहरीको भनाइ छ।
कुटपिटबाट गम्भीर घाइते भएका जीवन विकको रामेछाप सामुदायिक अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीले पक्राउ परेका आठ जनासँगै उनीहरू प्रयोग गरेका चारवटा मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्