सुदूरपश्चिम क्षेत्रको विकासका लागि सरोकारवालाले एकजुट हुनुपर्ने आह्वान गरिएको छ। सुदूरपश्चिम सरोकार मञ्चले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा आयोजना गरेको कार्यक्रममा सहभागीहरूले यस विषयमा जोड दिएका हुन्।
कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले सुदूरपश्चिमको समग्र विकासका लागि काठमाडौँमा बसोबास गर्दै आएका विभिन्न क्षेत्रका विज्ञहरू एक ठाउँमा आउनुपर्ने बताए। ‘सुदूरपश्चिप्रतिको आफ्नो भाव र मायाले नै म स्वास्थ अवस्था कमजोर हुँदा पनि यहाँ आउन सकेँ, तपाईंहरूसित भेट्न सकेँ,’ उनले भने, ‘यो भाव र आफ्नो माटो र जन्मेको ठाउँका लागि तपाईंहरू सबै मिलेर जानुहोस्।’
कार्यक्रममा मञ्चका अध्यक्ष डा. दीर्घबहादुर बमले रणसमुन्द्र डा.दीर्घसिंह बम पुरस्कार घोषणा गरेका छन्। हरेक वर्ष सुदूरपश्चिमबाट विभिन्न क्षेत्रमा उत्कृष्ट हुने प्रतिभाका लागि पाँच लाख रुपियाँ बराबरको पुरस्कार दिइने छ। डा. बम लामो समयदेखि स्वास्थ्य क्षेत्रमा सक्रिय छन् र आफूले सक्ने सहयोग तथा विज्ञता सुदूरपश्चिमको माटोका लागि खर्चिने बताए。
मञ्चका संरक्षक पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) मोतीलाल बोहराले सुदूरपश्चिमको विकासको लागि विभिन्न समूहमा विभाजित भएका सरोकारवाला निकायलाई मूल उद्देश्यका लागि एकजुट हुनुपर्ने बताए। कार्यक्रममै नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मतसिंह ऐरद्वारा लिखित ‘नेपालको पर्यटनमा कनेक्टिभिटी र नेटवर्किङः भुपरिवेष्ठितबाट भूजडित उडान’ नामक पुस्तक पनि विमोचन गरिएको छ।
पुस्तक विमोचन तथा विज्ञको धारणा
सुदूरपश्चिममा जन्मिएका हिक्मतसिंह ऐर विगत २६ वर्षदेखि नेपाल पर्यटन बोर्डमा विभिन्न जिम्मेवारी सम्हाल्दै हाल निमित्त कार्यकारी प्रमुखको भूमिकामा छन्। उनले पर्यटन क्षेत्रको विकास, पूर्वाधार, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय कनेक्टिभिटी र नेटवर्किङलाई केन्द्रमा राखेर पुस्तक तयार पारेका हुन्।
कार्यक्रममा ऊर्जाविज्ञ अनुपराज उपाध्यक्षले एक शोधपत्र प्रस्तुत गरेका छन्। सो पत्रमा सुदूरपश्चिमको उर्जा क्षेत्रको वर्तमान अवस्था र उर्जाक्षेत्र मार्फत समग्र सुदूरपश्चिमको विकासका लागि हुनसक्ने सम्भावनाबारे चर्चा गरिएको थियो। उपाध्याय पूर्वऊर्जा सचिवसमेत हुन्।
त्यस्तै, कृषिविज्ञ यज्ञराज जोशीले सुदूरपश्चिमको कृषि क्षेत्रको अवस्थाबारे आफ्नो धारणा राखेका थिए। सुदूरपश्चिममा पर्याप्त कृषिको सम्भावना रहे पनि विकासका कारण यो क्षेत्र पछि परेको जोशीको भनाइ थियो।
मञ्चको गतिविधि र सहभागी
कार्यक्रममा मञ्चका महासचिव सुरेन्द्र जोशीले मञ्चको आवश्यकता र स्थापनादेखि २० वर्ष लामो यात्राबारे जानकारी गराएका थिए। कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टलगायत विभिन्न व्यक्तित्वहरू सहभागी भएका थिए।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्