काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्ना सांसदको भूमिका थप प्रभावकारी बनाउन विशेष तालिम कार्यक्रम सञ्चालन गरेको छ।
विधायिकी प्रक्रिया, जनताको प्रभावकारी प्रतिनिधित्व तथा संसदीय सुनुवाइलाई सुदृढ बनाउने उद्देश्यले सांसदहरूलाई तालिम प्रदान गरिएको नेकपाका प्रमुख सचेतक युवराज दुलालले जानकारी दिए।
तालिमका क्रममा संसदीय सुनुवाइमा सांसदको भूमिका, सामाजिक सञ्जालमा फैलिने गलत तथा भ्रामक सूचनाबाट बच्ने उपाय र सामाजिक सञ्जालको जिम्मेवार तथा प्रभावकारी प्रयोगका विषयमा विज्ञहरूले प्रशिक्षण दिएका थिए।
त्यस्तै, संसदीय कामकारबाहीमा प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई) को उपयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा समेत सांसदहरूलाई जानकारी गराइएको थियो।
प्रमुख सचेतक दुलालका अनुसार अन्तर्राष्ट्रियस्तरमा प्रभावकारी मानिएका संसदीय अभ्यास र अनुभवका विषयमा पनि तालिमका क्रममा छलफल गरिएको थियो।
“हामी निरन्तर रूपमा अगाडि बढिरहेका छौँ। संसदीय भूमिका अझ प्रभावकारी बनोस् भन्ने उद्देश्यले तालिम आयोजना गरेका हौँ,” उनले भने।
काठमाडौंमा भदौ ६ देखि ८ गतेसम्म आयोजित तीनदिने तालिममा नेकपाका सबै सांसद सहभागी भएका थिए। पार्टीले सांसदहरूको क्षमता अभिवृद्धि गर्दै संसदीय गतिविधि र जनप्रतिनिधित्वलाई थप प्रभावकारी बनाउने उद्देश्यले यस्तो प्रशिक्षण आयोजना गरेको जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्